धरान : धरान उपमहानगरपालिकाले भोली ‘मङ्गलबार’ शोक विदा दिने भएको छ । विकृति, भ्रष्टचारविरुद्धमा जनअभियानको नेतृत्व गर्दै आएका धरान नगरपालिकाका पुर्व उपमेयर कृष्णनारायण पलिखेको शोकमा धरान उपमहानरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज सुचना जारी गर्दै भोली १ दिन विदा दिने निर्णय गरेको हो ।

मंगलबार उपमहानगरपालिका कार्यालय साथै मातहतको कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरु, क्याम्पस तथा कलेज सबैमा विदा हुने सुचनामा उल्लेख गरिएको छ ।

राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा आईतबार अपरान्ह निधन भएको पूर्व उपमेयर पलिखेको आज धरानको खत्रीधारामा अन्त्यष्टि गरिएको छ । उपप्रमुख मेयर झण्डै डेढ महिना देखि काठमाडौंमा उपचारत थिए । मृगौला रोग सँगै अल्सरबाट पिडित पलिखेको उपचारको क्रममा प्रेसर बढेर टाउकोमा रगत जमेपछि केही दिनअघि अप्रेशन गरिएको थियो । पलिखे २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट तत्कालिन धरान नगरपालिकाको उपमेयरमा विजयी भएका थिए । तर, पछि उनले उपमेयरबाट राजिनामा दिएका थिए । पलिखे पछिल्लो समय धरानमा जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउदै आएका थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व समेत गरेका थिए ।