झापा :  वरिष्ठ नर्सिङ अधिकृत शशीकला राईले महिलाहरुको पाठेघरमा हुने विभिन्न किसिमका क्यान्सर मध्ये ४० प्रतिशतमा सर्विक्स अर्थात पाठेघरको मुखको क्यान्सर हुने गरेको बताएकी छन् ।

झापाको अर्जुनधारा-३ खुदुनावारीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले सोमबार आयोजना गरेको एक दिवसीय भीआईए परीक्षण शिविरलाई सम्बोधन गर्ने क्रममा अधिकृत राईले यस्तो बताएकी हुन् । त्यसको लागि भीआईए परीक्षण गर्न सरकारले सशर्त अनुदानमार्फत बजेट विनियोजन गरे पनि उक्त बजेट पर्याप्त नभएको अवस्थामा अन्य संघ-संस्थाले उक्त शिविर सञ्चालन गर्नु पूण्य कार्य भएको उनले प्रतिक्रिया दिइन् ।

त्यसैगरी संस्थामा आबद्ध महिला शेयर सदस्य तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका महिलाहरुलाई पाठेघरमा हुने क्यानसरको जोखिमबाट बचाउन उनीहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष राधाकृष्ण खनालले बताए ।

अध्यक्ष खनालको अध्यक्षतामा आयोजित शिविरको प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले उद्घाटन गरेकी थिइन् । शिविरमा अधिकृत राईसँगै मेची अञ्चल अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर झुमा सिलवाल, सञ्जिवनी अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर खुश्बु अग्रवाल, स्टाफ नर्स छैंटौं सीतादेवी भण्डारी र सीनीयर अनमी उमा अधिकारीले सहभागी महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

८२० जनाको स्वास्थ्य परीक्षण गरिएको शिविरमा २६ जनामा भीआईए पोजिटिभ देखिएको र एक लाख ५० हजार बराबरको निःशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी एवम् कार्यक्रम संयोजक खगेन्द्र लिङदेनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख आचार्य, अर्जुनधारा-२ वडा समितिका अध्यक्ष रघुनाथ खनाललगायतले बोलेका थिए ।