झापा : झापाको झापा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी नायव निरीक्षकले निवेदन दर्ता गर्न गएका एक सेवाग्राहीलाई झापड हानेका छन् ।

झगडाका विषयलाई लिएर निवेदन दर्ता गर्न गएका एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना बाहिरिएको छ । झापा गाउँपालिका-२ का पुस्पतलाल माझीकी छोरी र रामकुमार माझीका छोराको विषयलाई लिएर भएको झगडाको निवेदन लिएर प्रहरी समक्ष पुगेका स्थानीय रामदेव राजवंशीलाई प्रहरीले कुटपिट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय झापाका सई मानबहादुर जम्बाले निवेदन लिएर जाँदा आफूमाथि हातपात गरेको राजवंशीले बताए । ‘निवेदन लिएर जाँदा सई साबले मुख छाडेर झापड हान्नुभयो’, उनले भने, ‘त्यसपछि छेउमा रहेको कुर्सीले हान्नुभयो ।’ राजवंशीलाई सई जम्बाले प्लाष्टिकको कुर्सीले हान्दा हातको कुहिनोमा चोट लागेको छ ।

गालामा हानेको थप्पडका कारण आफूले कान कम सुन्ने गरेको पीडितले बताए । उनले झगडा भएपछि घाइतेलाई अस्पताल पठाएर दोषीलाई कारबाहीका लागि माग गर्न प्रहरी कार्यालय गएको बताएका छन् । उनले सई जिम्वालाई कानुन अनुसार कारबाही गर्न माग गरे ।

राजवंशीको साथमा रहेका पुस्पलाल माझीले एक्कासि असई जम्बाले आक्रमण गरेको बताए । घटना पछि इलाका परिसरबाट बाहिरिएका पीडित राजवंशीले स्थानीय बासीलाई प्रहरीले हातपात गरेको बताएपछि स्थानीयवासीको दबाब पछि आफूले गल्ती स्वीकारेको बताइएको छ । यता, पीडित रामदेवले झापा गाउँपालिकाको न्यायिक समितिमा निवेदन दर्ता गर्न गएका छन् ।

घटनाको विषयमा गाउँपालिकाले सई जिम्बालाई छलफलका लागि बोलाए पनि सई जिम्बा गाउँपालिका गएनन् ।
यस विषयमा सई जिम्बासँग बुझ्दा उनले आफूले झापड र कुर्सीले हानेको आरोप मात्र भएको प्रतिक्रिया दिएका छन् । आफू अफिसको कामको सिलसिलामा जिल्ला जान हतार भएकाले सम्झाउँदा नमानेपछि हुत्त्याएको भने उनले स्वीकारेका छन् । झगडा गत बिहीबार भएको थियो । न्यायिक समितिले बोलाउँदा किन नजानुभएको भन्ने हाम्रो प्रश्नमा जम्बाले आफ्नो छुट्टै निकाय भएकाले गाउँपालिकाको न्यायिक समितिको छलफलमा आफू नजाने अडान लिएको प्रतिक्रिया दिए ।