धरान :  उदयपुर र मोरङका २ स्थानबाट गएराती नियन्त्रीत लागुऔषध गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका ३ चिचिला टप्पुमा लागुऔषध गाँजाको बिक्री बितरण तथा ओसार पसार भईरहेको सूचना पाए लगत्तै गएराती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २९ बर्षीय श्याम माझीलाई २ केजी गाँजा सहित घरबाट नै पक्राउ गरेको हो ।

गाँजा ओसार पसारमा संग्लग्न रहेका स्थानीय २६ बर्षीय मदन माझी, २२ बर्षीय किर्तिमान माझी, १९ बर्षीय सुकमान माझी, १८ बर्षीय सरोज गेलाल, १९ बर्षकै जय माझी र ६० बर्षीय बुद्धीमान माझीलाई समेत पक्राउ गरेको छ । बुद्धीमान माझीले घर नजिकै केरा घारीमा लुकाई छिपाई राखेको थप २ केजी गाँजा समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी मोरङको जहदा गाउँपालिका ३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भईरहेको भन्ने सूचना पाए लगत्तै गएराती ११ बजे प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले बाबुलाल सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँजा सहित पक्राउ गरेको छ ।