धरान : धरानमा आजदेखि औद्योगिक व्यापार मेला तथा जुत्ता-चप्पल मेला शुरू भएको छ । फागुन १५ देखि सुरु भएको मेला २४ गतेसम्म धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा मेला लागेको हो ।

प्रमुख अतिथि समेत रहेका सङ्घीय राज्यमन्त्री मोतिलाल दुगडले मेलाको उद्घाटन गरेको हो । दुगडले उद्योगी–व्यवसायीका समस्यामा राज्य गम्भीर रहेको बताए । उनले धरानलाई विशिष्ट औद्योगिक ग्राम स्थापनाका लागि सरकार लागिपरेको बताए । ‘हरेक जिल्लामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ, धरानलाई पनि बजेट छुट्याइसकिएको छ, धरानलाई विशिष्ट औद्योगिक क्षेत्र बनाउन लागिपरेका छौं’ उनले भने ।

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरे समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले देश समृद्ध बनाउन निजी क्षेत्र र राज्य दुबै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी र निजी क्षेत्रको मनोबल खस्किए देश समृद्धतर्फ जाँदैन’, उनले भने, ‘त्यसैले उद्योगी व्यवसायीको मनोबल खस्किन दिनुहुँदैन भन्ने पक्षमा सरकार लागिपरेको छ ।’ मेलाको उद्घाटन कार्यक्रममा दुगडले औद्योगिक प्रदर्शनीले उपभोक्तालाई फाइदा पुग्ने बताए ।

3 1

कार्यक्रममा बोल्दै मेलाका संयोजक शिवराज श्रेष्ठले विशेषतः उपभोक्तालाई फाइदा पुग्ने र सस्तो दर रेटमा सामान किन्न पाइने वातावरण सिर्जना गरेको बताए ।
संयोजक श्रेष्ठका अनुसार जुत्ता-चप्पलदेखि लिएर अन्य प्रकारका अटोबाइल्स, औद्योगिक सामग्री, हस्तकला उद्योगबाट उत्पादित सामग्री, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, कृषि उत्पादन, घरेलु वस्तुको लगायतका सामग्री सस्तो दररेटमा किन्न पाइनेछ । ‘जुत्ता-चप्पल मेलामा विशेषतः १५ देखि ६० प्रतिशतसम्म छुट रहेको छ’, उनले भने ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, प्रदेश नं. १ का उद्योग वाणिज्य महासङ्घका अध्यक्ष नरेन्द्रकुमार खड्का, प्रदेश नं. ५ का अध्यक्ष गुणनिधी तिवारी, प्रदेश सांसद् उमिता बराइली, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

मेलामा प्रदेश १ को पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्न विभिन्न टुर प्याकेज, साङ्गीतिक प्रस्तुतिलगायतका कार्यक्रम पनि छन् । मेलामा राष्ट्रिय उद्योग व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरू, हस्तकला उद्योगहरू, गार्मेन्ट छालाजन्य वस्तुहरू, बाल उद्यान तथा मौलिक नेपाली खाजाका परिकारहरू विशेष आकर्षण रहने छन् ।

मेलाका प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्माले मेलामा उद्योग व्यवसाय, बहुराष्ट्रिय कम्पनी, कृषि पर्यटन, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था, होटल व्यवसायी, घरेलु तथा साना उद्योग, सूचना प्रविधि, हस्तकला उद्योग, गार्मेन्ट तथा छालाजन्य वस्तु, श्रृङ्गार सामग्री, बाल उद्यान तथा मौलिक परिकारको प्रवद्र्धन हुने बताए । उनले कला संस्कृति, शिक्षा, औद्योगिक व्यापारका प्रवद्र्धन गरिने पनि बताए ।

मेलामा ८६ वटा स्टल राखिएका छन् । मेलामा बैङ्क तथा वित्तीय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गा्निक अचार, चिया, ललिपप गरी ९ वटा, अन्तर्रा्ष्ट्रिय उत्पादन (भारत, पाकिस्तान, बङ्गलादेश) १४ वटा, पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिंचाइ एक वटा, स्थानीय भवन निर्माण एक वटा, भवन निर्माण कम्पनी (आरएमसी) एक वटा, अटोमोबाइल्सका २ वटा, आइसक्रिम २ वटा, बराह ग्रुप ६ वटा, बिस्कुट एक वटा, चाउचाउ २ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

4 1

यस्तै, स्वास्थ्य, पर्यटन, चित्रकला ३ वटा, दुगड फुड्स २ वटा, कस्मेटिक एक वटा, प्लाष्टिकका भाडा ३ वटा, वाइ एक वटा, दुग्ध विकास संस्थान एक वटा, कार्पेट २ वटा र शैक्षिक संस्थाको एक वटा स्टल राखिएको आयोजकको भनाइ छ ।
३५ लाखको खर्च योजना गरेको मेला अवधिभर करिब ५ करोडको कारोबार गर्ने र ५ लाख दर्शकले प्रत्यक्ष मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा धरान नगरस्तरीय लोकभाकामा नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा धरानभरिका विद्यालयहरूले सहभागी जनाउन सक्नेछन् ।

मेलामा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क रहनेछ । दिउँसो ४ बजेपछि भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएकोले प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको मेलाका संयोजक श्रेष्ठले बताए । विद्यार्थीहरुको लागि भने प्रवेश शुल्क ३० रुपैयाँ तोकिएको छ ।

गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन, ग्लोबल आइएमई बैंकको प्रायोजन, बराह ग्रुप र डिभाइन वाइनको सहप्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रवद्र्धन र एशियन थाइफुड्स, जिपिएस मोटरसाइल हेरिटेज कार्पेट, ताज आइसक्रिम, बेबी आइसक्रिम, नेक्ड एक्सप्रेस, बाग्मती प्लाष्टिक प्रालिको सहयोगमा कार्यक्रम हुन लागेको हो ।