धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागमा प्रसुती गराउन ल्याइएकी आमा र उनको गर्भमा रहको शिशुको मृत्यु पछि आक्रोशित बनेका आफन्तहरुले अस्पताल प्रशासन संग गरेको वार्ताले पनि कुनै निचोड ननिकालेपछि सहमती बिनै शव बुझेर लगेका छन् ।

गएको मंगलबार वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको प्रसुती वार्डमा प्रसुती गराउन ल्याईएकी इटहरी -४ हलगडाकी २५ बर्षीय लक्ष्मी थापा बुढाथोकीको पेटमा रहेको बच्चाको जन्म नभई आमा र बच्चाको मृत्यू भएको थियो । आमा र बच्चा दुवैको मृत्यु भएको भन्दै दोषीलाई तत्काल कारबाही र परिवारलाई क्षतिपुर्तिको मागसहित आफन्तले अस्पताल प्रशासन र गाइनो विभागका चिकित्सकहरुसँग तथा प्रतिष्ठानका पदाधिकारीबीच छुट्टाछुट्टै बार्ता गरेका थिए । बार्ताको पनि खासै निकास ननिस्कीएको र अस्पतालमा भएको खर्च १६ हजार अस्पतालले ब्यहोरीदीने र शव बहानको खर्च बेहोरेर एउटा छानविन समिति गठन गर्ने भनिए पछि विना निचोड मृतक आमा बच्चाको शव बुझेर लगिएको मृतकका श्रीमान दिलबहादुर बुढाथोकीले बताए ।

मृतकका आफन्तले उपचारमा लापरवाही भएको दाबी गर्दै उपचारमा संलग्न डाक्टरहरुलाई तत्काल कारबाही गरीनुपर्ने र क्षतिपूर्ति पनि पाउनुपर्ने माग गरेका थिए । दुइ चरणको वार्ता पछि पनि कुनै निचोड नआएपछि शव बुझेका आफन्तहरुले इटहरीको बुढी खोलामा विहिवार नै दाहसंस्कार गरेको मृतकका मामा ससुरा गणेश चौहानले बताए । 'मृतक आमाको पेटबाट बच्चालाई बाहिर निकालिएको र अस्पतालमा लागेको खर्च र शव बहानको खर्च  अस्पतालले ब्यहोरेकाले   शव बुझयौ' उनले भने

चाडै छानविन समिति बनाईने र घटनाको छानविन हुने प्रतिष्ठानले मृतकका आफन्तलाई बताएको छ । सिराहाको गोलबजारकी लक्ष्मी र दिलबहादुरको विबाह भएको एक वर्ष पुग्दै थियो ।