धरान : धरान उपमहानगरपालिका ९ नं. वडा कार्यालयले सिसी क्यामेरा र डिजिटल डिसप्ले बोर्ड जडान गरेको छ । वडाको विभिन्न ३५ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

जसबाट वडा समितिमा नै बसेर वडाका प्रमूख चौक र सडकमा गएको गतिविधि सजिलै हेर्न सकिन्छ । उक्त सिसि क्यामेरा जडानका लागि वडाले प्रत्येक वर्ष ५ लाख छुट्याउने योजना रहेको छ । यसबाट वडाको नयाँ नयाँ ठाँउमा जडान गर्दै जाने योजना रहेको छ । यसबाट वडाको शान्ती सुरक्षा हुने र ट्राफिक दुर्घटना हुँदा, चोरी चकारी र शंकास्पद व्यक्तिहरुलाई पनि निगरानी राख्न सकिने धरान ९ नं. वडाका वडाध्यक्ष रन्न बहादुर कट्वालले बताए ।

वडाका विभिन्न सुचनाहरु वडाबासीहरुलाई जानकारी गराउन डिजिटल डिसप्ले बोर्डको पनि बुधबार देखि राखिएको छ । उक्त डिसप्ले वोर्डमा वडाको साईन बोर्ड, वडाबासीहरुलाई दिने सुचना, समय र तापक्रम पनि २४ औं घण्टा जानकारी गराईएको धरान ९ नं. वडा सचिव रन्जु भुजेल बताए । उक्त डिसप्ले बोर्डको लागि रु ८५ हजार लागत लागेको थियो ।

बाटो, ड्रेन, भवन, पानी र बिजुली जस्ता भौतिक पूर्वाधार विकास निर्माणलाई मात्र विकास भन्ने हाम्रो सोच भन्दा फरक तरिकाले वडाले काम गरिरहेको वडा सदस्य मनोज राउतले जानकारी गराए । यस अघि वडाबासीहरुको खानेपानीको समस्यालाई समाधान गर्न वडाले गरेको धर्ना कार्यक्रम लगायतका कार्यहरुबाट आफुहरु खुशी रहेको वडाबासी शम्भू श्रेष्ठले बताए ।