विराटनगर : मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाईकलमा सवार रहेका चालक सुन्दरहरैचा ११ का ३३ वर्षीय सुरेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका ईटहरी उपमहानगरपालिका ५ का २६ वर्षीय मनिष परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट, डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवाइल २ थान, लेनोभो मोवाइल १ थान र नोकिया मोवाइल १ थान समेत बरामद गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान राती पौने १ बजे विराटनगर महानगरपालिका ११ का २६ वर्षीय दिपेश श्रेष्ठ र उनकै श्रीमती २१ वर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्याप नामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरेको छ ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । बिहिवार साँझ ५ बजे कमल गाउँपालिका ५ का २३ वर्षीय मनिष धिमालको साथबाट डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।