इटहरी  : इटहरीमा ५० शैयाको सैनिक अस्पताल उद्घाटन भएको छ । पूर्वी पृतना सैनिक मुख्यालयमा १६ करोडको लागतमा बनेको अस्पताल प्रधानसेनापति पूर्णचन्द्र थापाले आज बिहान उद्घाटन गरेका हुन् ।

नेपाली सेनाका सेवारत तथा अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारको लागि अस्पताल खोलिएको प्रधानसेनापति थापाले बताए । ३० हजार वर्ग मिटरको क्षेत्रफलमा बनेको यो अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल काठमाडौँ बाहिर तीन वटा स्तरीय अस्पताल मध्येको एक हो ।

इटहरी बाहेक पोखरा र नेपालगन्जमा समेत सैनिक अस्पताल बनेका छन् भने धनगढी तथा बर्दिबासमा स्याटलाइट अस्पतालहरू खुलेका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा २०७४ कार्त्तिकमा बाट निर्माण सुरु गरिएको अस्पताल २०७६ मङ्सिरमा सम्पन्न भएको थियो ।

Sainik-Hospital-2

अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, ईण्डोस्कपि, अल्ट्रासाउन्ड, एक्स(रे लगायतका थुप्रै सेवाहरू रहने छन् । अस्पतालमा आइसियु युनिट, आइसोलेटेड वार्ड, बाल रोग वार्ड, पुरुष तथा महिला वार्ड, प्रसूति वार्ड, प्रसूति शल्यक्रिया कक्ष देखी विभिन्न महत्त्वपूर्ण वार्डहरू छन् ।

अस्पतालमा ७७ जना मेडिकल जनशक्तिहरू रहेको र १३ जना अनुभवी डाक्टरहरू छन् । उद्घाटन कार्यक्रममा इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले सर्वसाधारणहरुलाइ समेत सेवा दिन आग्रह गरेको समेत बताइन ।

इटहरीमा अहिले स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएको २५ शैयाको इटहरी अस्पताल सञ्चालनमा छ ।