इलाम  : जोर्डन जुयानेर डेम्बेलेको २ गोलको मद्धतमा आयोजक माईभ्याली फुटबल क्लब छैटौ माईभ्याली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ठुलो टुडिखेलमा जारी प्रतियोगितामा आयोजकले पाहुना टोली सिक्किमको गान्तोक सिटि फुटबल क्लबलाई २-० ले हरायो । खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले ५ मिनेटमा अग्रता बनायो । शिशिर लेखीको क्रस पासमा डेम्बेलेले पहिलो गोल गरे । दोश्रो हाफको इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा डेम्बेलेले दोश्रो गोल थपे । आयोजकले छिरिङ गुरुङको कप्तानीमा ३ जना अफ्रिकन खेलाडी र ए डिभिजनका विभिन्न क्लबका खेलाडीहरु समेटेर बनाएको थियो ।

जितसंगै आयोजकले सेमीफाइनल प्रवेशका लागी फागुन २० गते कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्पोर्टिङको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले झापा–११ को सामना गर्नेछ । प्रतियोगिताको बिजेताले नगद ८ लाख र ५ लाख रुपैया प्राप्त गर्नेछ ।