इटहरी : लामो बिबादपछि इटहरी उपमहानगरपालिका भित्र कोशी राजमार्गलाई कानुन बमोजिम ५० मिटर चौडा बनाउने निर्णय भएको छ ।

राजमार्गको बीचभागको दायाँ बायाँ २५-२५ मिटर चौडा बनाउने गरी सीमा सडककै मातहतमा ल्याउने निर्णय भएको हो ।

रानी किमाथाङ्का जोड्ने राष्ट्रिय राजमार्ग निर्माण योजना अन्तर्गत कोशी राजमार्गको क्षेत्राधिकार भित्र ल्याउने बिषयमा इटहरी उपमहानगरपालिका, सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले मापदण्ड अनुसारकै सडक बनाउने निर्णय गरेको हो ।

बैठकमा मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्मा सहित दिपक गौतम, भुपेन्द्र बराल, चन्द्रप्रसाद भट्टराईको उपस्थिती रहेको थियो ।

घर टहरा भत्काउन १५ दिने म्याद :

बैठकले आफ्नो घर टहरा भत्काउन अन्तीम पटक १५ दिने म्याद दिइ सार्वजनिक सुचना जारी गर्ने निर्णय गरेको छ । सडक अधिकारक्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिका लगायतका संस्थाले हटाउने सहमति भएको छ ।

सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सुचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरेको थियो ।

सडक मापदण्ड अनुसार खाली गराउने र नगराउने विषयमा केही समय यता स्थानीय घरधनी तथा मदन चुँडालको नेतृत्वमा युवा समुहहरुबिच रस्साकस्सी चल्दै आएको थियो । कोशी राजमार्गमा पर्ने घरका घरधनीहरु तथा उद्योगी व्यवशायीहरु सडक विस्तार गर्न नहुने पक्षमा थिए । सोहीअनुसार सडक आयोजना कार्यालयले समेत सडक खुम्च्याएर विस्तार गरेको थियो ।