धरान : २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुव्वा टुवोर्ग गोल्डकपको फाईनल खेल आज हुदैछ ।

धरान रंगशालामा हुने फाईनलमा विभागिय टिम नेपाल पुलिस क्लव काठमाण्डौ र सात पटक राष्ट्रिय लिग विजेता मनाङ मर्स्याङदि क्लव काठमाण्डौ विच हुँदैछ । बुढासुव्वा गोल्डकपको सोमबार भएको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ४-० गोलको फराकिलो अन्तरले हराउदै मनाङले सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस पछि बुधबारको खेलमा मनाङले युकेएफसी खर्साङ भारतलाई २-० गोल अन्तरले पराजित गरी फाईनल खेलको यात्रा तय गरेको हो । तीन पटक बुढासुव्वा गोल्ड कपको उपाधि बिजेता बनिसकेको मनाङ मर्स्याङदि क्लव आजको बुढासुव्वा गोल्डकपको २२ औं संस्करणको उपाधिको बलियो दाबेदार हो ।

यसैगरी आज हुने २२ औं बुढासुव्वा गोल्ड कपको उपाधिको अर्काे बलियो दावेदार हो नेपाल पुलिस क्लब काठमाण्डौ । नेपाल प्रहरीको विभागिय फुटबल टिम नेपाल पुलिस क्लवले बुढासुव्वा गोल्डकपको ५ पटक उपाधि जिति सकेको छ । विभागिय टिम नेपाल पुलिस क्लव पनि शहिद स्मारक ए डिभिजन लिग जितिसकेको क्लव हो । पाँच पटक बुढासुव्वा गोल्ड कपको उपाधीको बाजी मारिसकेको नेपाल पुलिस क्लवले यसपटकको २२ औं संस्करणको बुढासुव्वा गोल्ड कपमा आईतबार सम्पन्न पहिलो खेलमा मेची नेत्रालय काँकाडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ३-१ गोल अन्तरले पराजित गरेर सेमीफाईनलको यात्रा तय गरेको थियो । यसैगरी सडन डेथमा अर्काे उत्कृष्ट टिम मच्छिन्द्र क्लव काठमाण्डौलाई पराजित गरी २२ औं संस्करणको बुढासुव्वा गोल्डकपको फाईनल खेलको लागि यात्रा विभागिय टिम नेपाल पुलिस क्लवले तय गरेको हो ।

आज हुने फाईनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुने दुवै टिमले दावी गरेका छन् । दुवै टिम बुढासुव्वा गोल्डकपको २२ औं संस्करणको उपाधिको बाजी मार्ने दाउमा छन् । नेपालका उत्कृष्ट फुटबल क्लव विच हुने फाईनल खेल निकै रोमान्चक  हुने आयोजकले दावी गरेको छ ।  उपाधि विजेता टिमले नगद १० लाख रुपैया र उपविजेताले नगद ५ लाख रुपैया सहित ट्रफि , मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर पाउने छन् भने यसैगरी प्रतियोगिता अवधिभर सर्वाधिक गोल कर्ताले नगद ३५ हजार रुपैया, खेलको म्यान अफ द म्याचले नगद १५ हजार , उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट प्रशिक्षकले नगद २५ हजार प्राप्त गर्नेछन् । आजको फाईन खेलको समापन समारोहमा एक नम्वर प्रदेशका मुख्यमन्त्रि शेरधन राईको प्रमुख आतिथ्यता रहने बताईएको छ ।

आज भने खेल निर्धारित समय भन्दा चाडो १ बजे देखि हुने आयोजकले बताएको छ ।