इलाम : छैटौं माईभ्याली गोल्डकप अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा दुई संस्करणको विजेता झापा-११ ले पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीको सामना गर्दैछ ।

ठुलो टुडिखेलमा हुने खेलमा झापाको लागी साख बचाउन चुनौती देखिन्छ । ए डिभिजन लिगका विभिन्न क्लबमा झापाली खेलाडी अनुवन्धनका कारण दर्शकहरुको अपेक्षा अनुसारका खेलाडीहरु मैदानमा देखिने छैनन् । झापाले टिमबाट ए डिभिजन खेलाडी कर्ण लिम्बु, सन्जोग राई, निरोज बस्नेत, निशान्त खड्का, हेमन्त थापा मगर, अविशेक बराल सहित सी डिभिजनका केही खेलाडीहरु मैदान उतार्ने तयारी गरेको छ ।

यता पाहुना टोली मानेभञ्ज्याङबाट आसामका खेलाडीहरु सम्मिलित टिम रहेको छ । यसअघि मानेभञ्ज्याङले झापाको शिवसताक्षी गोल्डकपको क्वाटरफाइनल खेलेको थियो । उसलाई विभागीय टोली त्रिभुवन आर्मीले २-१ ले हराएको थियो । झापाले नवलपुरमा सम्पन्न ५ औ राईनो गोल्डकपमा हेटौडाको बिजय युथ क्लबसंग ६-१ ले पराजय भोगेको थियो ।
झापाले इलामे मैदानमा दोश्रो संस्करणमा विभागीय टिम शसस्त्र प्रहरीको एपिएफ र तेश्रो संस्करणको माईभ्याली गोल्डकपमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै उपाधि चुमेको थियो । यदपी त्यस समयका सवै खेलाडीहरु हाल टिमा नदेखिने भएकाले झापालाई चुनौती छ । पाँचौ संस्करणको प्रतियोगितामा झापा-११ ले सहभागीता जनाएन् ।