इलाम : कार्डको बर्षा भएको खेलमा दुई संस्करणको च्याम्पियन झापा-११ लाई हराउँदै पाहुना टोली मानेभञ्ज्याङ एफसी दार्जिलिङ माईभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापालाई २-० ले पराजित गर्यो । खेल अवधी भर दुवै टिमका ६ जना खेलाडीलाई म्याच रेफ्री श्रवण लामाले पंहेलो कार्डको दर्शन गराए । झापाका ४ जना र मानेभञ्ज्याङका २ जना खेलाडीले पहेलो कार्ड पाए ।

खेलको सुरुवातबाटै दबाब बनाएको मानेभञ्ज्याङले २३ औ मिनेटमा अग्रता बनायो । चानमित्रे थामको क्रस पासमा पेनिसाइ लाथोङले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । पुन : खेलको ४८ औ मिनेटमा लाथोङले अग्रता दोव्बर बनाए । ८५ औ मिनेटमा सुनिल खड्काको क्रस पासमा सरोज कार्कीले अग्रता कम बनाउने प्रयास गरेका थिए । खेल अवधी भर झापाको पोष्टमा मानेभञ्ज्याङले आक्रमण बुनिरहयो । छरितो खेल प्रर्दशन गरेको पाहुना टोलीले एक पछि अर्को आक्रमण बुनिरहँदा झापाका गोलरक्षक अविशेक बराल गोल रोक्न व्यस्त देखिन्थे । झापाले केही राम्रा मुभहरु बनाएपनि मानेभञ्ज्याङका गोलरक्षक फ्रोलिक्सन खारले विफल बनाइदिए ।

जितसंगै फाइनल प्रवेशका लागी मानेभञ्ज्याङले गोर्खा व्वाइज रुपन्देही र ए डिभिजन लिग विजेता मछिन्द्रबिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दि म्याच दुई गोल गर्ने पाहुना टोलीका लाथोङ घोषित भए । प्रतियोगिता अन्तर्गत भोली ए डिभिजन लिग उपविजेता विभागीय टोली त्रिभुवन आर्मी र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।