अमेरिकाले अफगानिस्तानबाट हजारौ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिवार हस्ताक्षर गरेको छ।

कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएको छ । काबुलमा भएको अमेरिका - अफगानबीचको संयुक्त निर्णय मार्फत् उक्त घोषणा भएको हो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिबानका नेताहरू उक्त सम्झौता हस्ताक्षर कार्यक्रमका लागि कतार पुगेका थिए।

सम्झौतामा तालिबान यसअघि 'अमेरिकाको कठपुतली' भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको अफगान सरकारसँग वार्ता गर्ने उल्लेख छ। सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा एक हप्ता लामो युद्धविराम भएको थियो जुन पालना भएको बताइएको छ। शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानहरूलाई दिगो शान्तिको सम्भावना अङ्गाल्न आह्वान गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार एक विज्ञप्तिमार्फत उक्त सम्झौताले अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्नेु सम्भावना बोकेको बताएका थिए।

'अन्तत: आफ्नो भविष्य अफगानिस्तानका जनताकै हातमा हुने हो' ट्रम्पले भनेका छन्। 'त्यसैले हामी अफगानिस्तानका जनतालाई शान्ति र देशको नयाँ भविष्यका लागि यो मौका नगुमाउन आह्वान गर्छौं।'