इलाम : इलामको ठुलो टुँडिखेलमा जारी छैटौँ संस्करणको माई भ्याली गोल्डकपको सेमिफाइनल प्रवेशका लागी विभागीय टोली त्रिभुवन आर्मीले सङ्कटा क्लबको सामना गर्दै छ । दुवै टिम आफ्ना केही स्टार खेलाडी विना मैदान उत्रने छन् ।

आगामी चैत्रमा हुने विश्वकप छनौटका लागी आर्मीका ७ जना र सङ्कटाका ३ जना खेलाडी क्लोज क्याम्पमा हुनेछन् । आर्मीका कप्तान भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, गोलरक्षक विकेश कुथु, सुमन अर्याल, सेसेहाङ आङदाम्बे, विकास खवास उपलब्ध हुने छैनन् । यता सङ्कटा क्लबका सुभाष गुरुङ, अमित तामाङ र सरोज दाहाल समेत इलामे मैदानमा देखिने छैनन् ।

सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्मी विरुद्धको खेलमा सङ्कटालाई जित निकाल्न कठिन हुने देखिन्छ । इलामे मैदानमा तुलनात्मक रूपमा आर्मी अनुभवी टोली रहेको छ । पहिलो संस्करणको प्रतियोगिता जितेको आर्मी टोली तेस्रो संस्करणको फाइनल पुगेको थियो । त्यस यता आर्मीको यात्रा सेमिफाइनल मात्र हुँदै आएको छ । लिगको उपविजेता टोलीले यसै महिना नवलपुरमा भएको पाँचौँ राइनो गोल्डकपमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै उपाधि जितेको थियो ।

आर्मी झापामा भएको तेस्रो शिवसताक्षी गोल्डकपको उपविजेता टोली समेत हो । यता सहिद स्मारक लिगको सातौँ टोली सङ्कटाले सिजनमा दोस्रो प्रतियोगिता हो । बाग्मती गोल्डकपको सेमिफाइनलमा सङ्कटा क्लबलाई जावलाखेलले हराएको थियो । इलामे मैदानमा तेस्रो संस्करणको प्रतियोगिताको क्वाटर फाइनल खेले यता टिमले सहभागिता जनाएको छैन ।
आर्मीको टिमबाट पूर्व राष्ट्रिय खेलाडी जितेन्द्र कार्की, दीप लामा, टङ्क बस्नेत, सन्तोष तामाङ, विवेक बस्नेत, विवश चौधरी लगायतका खेलाडी मैदान उत्रने छन् । सङ्कटा क्लबबाट यु-१९ का डिफेन्डर रोमन लिम्बु र गोलरक्षक रोहित कार्की रहेका छन् । राष्ट्रिय टिमका पूर्व डिफेन्डर रवि सिलवाल इलाम आए पनि इन्जुरीका कारण बेन्चमा हुनेछन् ।