धरान : धरानमा रहेर पर्यटनको क्षेत्रमा सक्रिय सेछ ट्राभलिङले स्थापना गरेको सेछ पर्यटन पत्रकारिता पुरस्कार यस बर्ष तीन जना पत्रकारलाई प्रदान गरिएको छ ।

सेछले तीन बर्षयताको पत्रकारिता पुरस्कार एकै पटक प्रदान गरेको हो । सेछले २०७४ सालको पुरस्कार धरानका दिनेश गजमेरलाई, २०७५ सालको पुरस्कार पाँचथरका गिरिराज बाँस्कोटालाई र २०७६ सालको पुरस्कार सुनसरी इटहरीका विराट अनुपमलाई प्रदान गरेको छ । पुरस्कृत पत्रकारहरुलाई एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शनिवार साँझ उद्योग बाणिज्य संघको सभा हलमा सो पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

पत्रकार गजमेर हाल कोशीपत्र दैनिक र जनता टेलिभिजनमा आबद्ध छन् भने बाँस्कोटा पाँचथरबाट नागरिक दैनिकका संवाददाता हुन् । राससको इटहरी सम्वाददाता विराट अनुपम स्वतन्त्र रहेर बिषेशगरी पर्यटनको क्षेत्रमा कलम चलाउने गर्दछन् ।

सेछले २०७१ सालदेखि पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पर्यटनमा कलम चलाउने पत्रकारहरुलाई वर्षेनी सम्मान गर्दै आएको छ । यसअघि २०७१ सालमा रोहित राई, २०७२ सालमा गोपाल दाहाल र २०७३ सालमा भैरव आङ्लालाई सो पुरस्कार प्रदान गरिएको थियो । २०६८ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलिङले पूर्व क्षेत्रको पर्यटनलाई व्यवसायिकरण गर्ने प्रयास गरिरहेको छ । सेछले धरानलाई केन्द्र बनाइ पूवको पर्यटनको देश विदेशमा प्रचार र प्रवर्धन गर्दै आएको छ ।