इलाम : सुदिल राईको २ गोलको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौँ माईभ्याली गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ठुलो टुँडिखेलमा भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले सङ्कटा क्लबलाई २-१ गोल अन्तरले हरायो । खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले खेलको ७ औ मिनेटमा अग्रता बनायो । विवेक बस्नेतको रिवाउन्ड बलमा सुदिल राईले आर्मीलाई सुरुवाती अग्रता दिलाए । ४१ औ मिनेटमा सङ्कटाले खेल बराबरीमा ल्यायो । मेजुकेको क्रस पासमा डेडी वाम्बाले गोल गरे ।

दोस्रो हाफमा आक्रामक बनेको आर्मीले ८३ औ मिनेटमा अग्रता बनायो । विवेक बस्नेतको क्रस पासमा पेनाल्टी एरियाबाट सुदिलले व्यक्तिगत तथा टिमका लागी दोस्रो गोल गरेपछि आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । खेल अवधि भर दुवै टिमले केही राम्रा मुभहरु बनाए पनि सदुपयोग गर्न सकेनन् ।
चौथो मिनेटमा आर्मीका जितेन्द्र कार्कीले गरेको प्रहार सङ्कटाका गोलरक्षक विनय श्रेष्ठले सहजै नियन्त्रणमा लिए । ८ औ मिनेटमा विवेक बस्नेतको हेडर पोस्टमाथिबाट बाहिरियो । ८८ औ मिनेटमा विवेक बस्नेतले देब्रे कुनाबाट गरेको प्रहार साइड बारमा लागेर बाहिरियो । इन्जुरी समयमा सङ्कटाका गोलरक्षक अघि बढेका मौकामा दीप लामाले गरेको प्रहार क्रस बारमा लागेर बाहिरियो । सङ्कटाका मेजुकेले ११ औ मिनेटमा गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले पञ्च गरेर बाहिर पठाइदिए । १७ औ मिनेटमा मेजुकेले गरेको प्रहारमा उत्तम राईको हेडर बारमा लागेर रिबाउन्ड भयो ।

Mai-Vally-Logo

७७ औ मिनेटमा मुजुकेको प्रहार विवशले मुस्किलले बचाए । खेल अवधिभर सङ्कटाका ३ जना खेलाडीले पहेँलो कार्ड पाए । खेलको ७२ औ मिनेटमा डिबक्स बाहिर बल हातले नियन्त्रणमा लिएपछि सङ्कटाका गोलरक्षक विनय श्रेष्ठले पहेँलो कार्ड पाए । ७४ औ मिनेटमा लक्ष्मण रुचाल र ९० औ मिनेटमा दीपेश आलेले पहेँलो कार्ड पाए ।
खेलपछि प्रतिक्रिया दिँदै सङ्कटाका टिम मेनेजर राजेश तुलाधरले रेफ्रीले पक्षपाती खेलाएको आरोप लगाए । ‘रेफ्रीले ११-१५ को खेल खेलायो । हामीले पाएका अवसरहरू पनि दिएन ’ उनले भने ‘ बेड लक पनि भयो केही राम्रा मुभहरु सदुपयोग भएन । डिबक्सभित्र हेन्ड भएपछि पाएको पेनाल्टीको अवसर नदिँदा हार्न पुग्यौ ।’

यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने खेलबाट सन्तुष्ट छन् । ‘७ जना नियमित सेटका खेलाडी राष्ट्रिय टिमको क्याम्पमा हुँदा पनि जित निकाल्न सफल बन्यौ । ’ उनले भने ‘ राइनो गोल्डकपको उपाधि जितेर फर्किने बित्तिकै इलाम खेल्नुपरे पनि खेलाडीहरूले क्षमता अनुसारको देखाए । ३ दिनका रेष्ट भएकाले इन्जुरी चेक जाँच गर्न सहज हुनेछ ’ कम्प्याक्टर डिफेन्स र क्विक एटेकका कारण अफ्रिकन खेलाडी सम्मिलित सङ्कटामाथि जित निकाल्न सफल भएको न्यौपानेले प्रतिक्रिया दिए ।

राष्ट्रिय टिमको क्लोज क्याम्प सर्न सक्ने सम्भावना रहेकाले आगामी खेलमा आवश्यक परेको खण्डमा सुरुवाती रोजाइका खेलाडी मैदान उतार्न सक्ने उनले बताए । जितसँगै आर्मीले फाइनल प्रवेशका लागी मोहम्मडेन स्र्पोटिङ क्लब र आयोजक माईभ्याली फुटबल क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो क्वाटर फाइनल खेलमा भोलि ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले गोर्खा व्वाइज रुपन्देहीको सामना गर्नेछ । प्रि-क्वाटर फाइनल खेलमा कोहिमा इगल नागाल्यान्डलाई ४-० ले हराउँदै रुपन्देही क्वाटर फाइनल प्रवेश गरेको हो ।