धरान : सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

अब सन् २०२२ मा भ्रमण वर्ष मनाउने निर्णय पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भ्रमण वर्ष २०२० स्थगित गरी २०२२ लाई भ्रमण वर्ष घोषणा गर्न प्रधानमन्त्रीले नै प्रस्ताव गरेका हुन् । आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । भ्रमण वर्ष स्थगित भएकोबारे औपचारिक जानकारी आगामी बिहीबार प्रवक्ता डा. युवराज खतिवडाले संसदमा गराउनेछन् । त्यसैगरी भ्रमण वर्ष सचिवालयले पनि यसबारेमा जानकारी गराउनेछ ।

सगरमाथा संवाद पनि रोकियोः

नेपाल सरकारले पहिलोपटक अन्तर्रा्ष्ट्रिय समुदाय सहभागी गराएर गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ पनि स्थगित गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको चन्द्रागिरिमा गर्ने भनिएको सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको बताईएको छ । कोरोना भाइरसले विकराल रुप लिइरहेका बेला आईतबार दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथा संवाद सचिवालयका पदाधिकारीसँग छलफल गरेका थिए । सरकारले आगामी २० चैतदेखि २२ गतेसम्म चन्द्रागिरिमा सगरमाथा संवाद गर्न लागेको थियो । यस कार्यक्रममा एक सय ५० विदेशीसहित कूटनीतिज्ञ सहित २ सय ५० जना प्रतिनिधिलाई बोलाइएको थियो ।