इटहरी : धरान भन्ने बित्तिकै सुन्दर, सफा र मनोरम भन्ने बुझिन्छ । अर्थात् धरानको पहिचान सुन्दरता सँग जोडीएको छ । प्राकृतिक वा भौतिक दुवै हिसाबले सुन्दर सहरको रूपमा परिचित छ धरान ।

तर यो परिचय दुईबर्ष देखी धरान नटेक्नेहरूको लागी मात्रै हो । दुईबर्ष अगाडी देखी धरान प्रवेश गर्न नपाउँदै पिरो धुवाँले स्वागत गर्छ । धरान र इटहरी उपमहानगरको फोहोर जलेर निस्किने पिरो धुवाँले जो कोही यात्रुको मस्तिष्क हल्लाउँछ । दैनिक जसो धरान देखी इटहरी तर्फ यात्रा गर्ने यात्रुको लागी यो ठुलो समस्या बन्दै गएको छ ।सेउती पुल आसपास पिरो धुवाँ भोगेको यात्रु तीनकुने पुगेपछि खुलेर सास फेर्न थाल्छन् । तीनकुनेबाट केही माथि बरगाछी पुग्न नपाउँदै कुहिरो लागेजस्तो धुलो  अगाडी आउँछ । खाल्डाखुल्डी बाटो र त्यसमाथि धुलो । करिब १ किलोमिटर धुलाम्मे सडक पार गरेपछि अनीमात्र पुगिन्छ धरान बजार । जङ्गलको पिरो धुवाँ र बजार छेवैको धुलोले धरान आउने यात्रुलाई हरेक दिन प्रतीक्षा गरिरहेको हुन्छ ।pic-2,dharan-ko-fohor-jungl

जसले गर्दा धरानको सुन्दरतामा कालो दाग लगाईदिएको छ । धरान भन्ने बित्तिकै सफा सहर सोचीरहेको बेला पछिल्लो समय धुलो र धुवाँको नगरी भन्ने अवस्था सृजना भएको सेवक अभियानका अध्यक्ष राजीव हलवाई बताउँछन् । स्वास्थ्य,वातावरण र पर्यटन सम्बन्धी काम गर्ने संस्था सेवकको तर्फबाट आफूहरूले  ध्यानाकर्षण गर्दा समेत केही सुधार नभएको उनको भनाइ छ । अब केही दिनमै इटहरी र धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी थालिएको उनले जानकारी दिए । बाटो मर्मत गर्न २ वर्ष लगाएपछि धेरै जनताले सास्ती बेहोर्नु परेको उनको भनाई छ ।

काठमाडौँको ‘वेस्ट टु इनर्जी प्रा.ली.’ ले धरानको फोहोर व्यवस्थापनको जिम्मा पाएको छ । २ वर्ष भित्रमा प्लान्ट निमार्ण गर्ने भनी २०७४ जेष्ठ २५ गते सम्झौता भएको थियो । २० वर्षको लागी फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीले सम्झौता अनुसार काम नगर्दा जनताले दैनिक सास्ती बेहोर्नु परीरहेको छ । यता धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी भने कम्पनीले काम धमाधम गरिरहेतापनि केही ढिला हुन गएको बताउँछिन् । दीर्घकालीन समस्या समाधानको लागी काम भइरहेको उनको भनाई छ ।

धरान बजार प्रवेशद्वारमै धुलो उड्ने विषयमा आफूहरू गम्भीर भएको उनले बताइन् । हाइवेमा स्थानीय तहले भन्दा पनि सडक विभागको क्षेत्राधिकार पर्ने भएकोले आफूहरूले बारम्बार घच्घच्याउने काम गरिरहेको भण्डारीको भनाई छ । पहिला जस्तो चाडै भत्किने गरी सडक मर्मत नगर्न भनेपछि सडक विभागले लामो समयको लागी सडक मर्मत कार्य अगाडी बढाई रहेको भण्डारीले जानकारी दिइन् ।