इटहरी : हरिया गमलामा ढकमक्क बिरुवाहरू । भर्खरै पखालेर सफा पारिएको सडक पेटी । फुल रोप्न तयारी अवस्थामा रहेको केही गमलाहरू । त्यही गमलामा केही ग्राहक र यात्रुहरू फोटो खिचीरहेका छन् ।

इटहरी पूर्व लाइन दक्षिण तर्फ स्थानीय व्यापारीको पहलमा बजार सुन्दर र सफा देखीन्छ । धुँवाधुलोले आक्रान्त इटहरी केही व्यापारीको पहलका सुन्दर देखीन थालेको हो ।
सधैं स्थानीय सरकारको मुख ताक्नु भन्दा आफैले अग्रसरता देखाएर नयाँ कामको थालनी गर्न सकिने स्थानीय व्यापारी जीवन श्रेष्ठ बताउँछन्। जनप्रतिनिधिले गरेनन् भनेर गुनासो गर्ने भन्दा पनि हामी आफूले के गर्‍यौ भन्ने सोच्ने हो भने गाउँ बजार आफै सुन्दर हुने उनको बुझाई छ । जिफो कलेक्सनका सञ्चालक गोपाल भण्डारीको अग्रसरतामा भएको कार्यमा स्थानीय व्यापारीले साथ दिएका हुन् । दुईबर्ष अघि आफू विदेश घुमेर आएपछि केही गर्नुपर्छ भन्ने लागेर वरिपरि सफाइ गर्ने काम थालेको उनले सुनाए । पसल छेउमा मात्र सफा पारेर नहुने भएपछि पुरा लाइनै सुन्दर बनाउने अभियानमा लागेको उनले बताए ।itahari-flower-2

त्यसै क्रममा श्रेष्ठ र भण्डारीले सोही लाइनका व्यापारीसँग समन्वय गरे । व्यापारीहरू राजी भएपछि उपमहानगरको वातावरण शाखामा पुगेर आफ्नो योजना सुनाए । वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले पनि राम्रो काम भएको भन्दै सक्दो सहयोग गर्ने बचन दिए । उपमहानगरले ६० वटा गमला दियो , गमला रङ्ग भर्ने काम उनीहरू आफैले गरे । गमलामा रोप्ने बिरुवाहरु सबै मिलेर खरिद गरे । गमलाको छेउछेउमा डस्टबिन समेत राखिएका छन् । विभिन्न संस्था तथा बैङ्कको सहयोगमा १५ वटा डस्टबिनहरु समेत रहेका छन् । पहिला जथाभाबी फोहोर फ्याँक्ने ग्राहक तथा यात्रुहरू अहिले डस्टबिनमै फोहोर फ्याँक्न थालेको भण्डारी सुनाउँछन् । उपमहानगरको फोहोर व्यवस्थापन गर्ने कम्पनी वेस्ट म्यानेजमेन्ट प्रा.ली.ले समेत दैनिक बिहान बेलुका २ पटक फोहोर सङ्कलन गर्ने गरेको छ ।

बिहान र बेलुका पानीले पखाल्ने र फोहोर हुनै नदिने अवस्था बनाएपछी आनन्द महसुस हुन थालेको भण्डारी बताउँछन् । अरूको मुख हेर्ने भन्दा पनि आफैले गरेर अरूलाई सिकाउनको लागी केही पहल गरिएको उनको भनाई छ । त्यही देखेर अहिले इटहरीका धेरै व्यापारीहरू कसरी गर्ने भन्दै परामर्श लिन आउन थालेको उनी सुनाउँछन् । के हीसमयमै पुर्व लाइनको उत्तर तर्फ र जनता मा.वि.को गल्लीमा सोही डिजाइनको व्युटीफीकेसन हुने उनले बताए ।
धुँवाधुलोले अस्तव्यस्त बजारको बिचमा केही व्यापारीको अग्रसरतामा भएको अनुपम कार्यले इटहरी उपमहानगर, उद्योग वाणिज्य सङ्घ लगायत सम्पूर्ण व्यापारीलाई ऊर्जा प्रदान गरेको छ ।itahari-flower-1