पथरी : रतुवामाई नगरपालिका वडा नम्बर १ का वडा सदस्य मोहोमद सदिर मियाँ तस्करीमा संलग्न रहेको पाइएको हो । लामो समयदेखि अवैध रुपमा भारतबाट भन्सार छलि आयत गरेको सामान पूर्वका विभिन्न बजारहरुमा लगी बेच्ने गरेको पनि खुलासा भएको छ ।

आइतबार अपराहन्न ३ बजे सोनापुरबाट उर्लाबारी तर्फ जाँदै गरेको मे १ त ८७ १६ नं। को वडा सदस्य मियाँको ट्याक्टरमा धानको बोराले छोपेर अवैध रुपमा चिनि तस्कर गर्ने क्रममा रतुवामाई ९, टालिभट्टामा दुर्घटना भएको थियो । उक्त ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि ट्याक्टर चालक गुडिरहेको ट्याक्टरबाट हाम फालेर भागेपछि दक्षिणतर्फबाट आउँदै गरेको अर्को मे १ त ६४६६ नम्बरको ट्याक्टरसमेत अनियन्त्रीत भएको थियो ।

ट्याक्टरको ठक्करबाट घाइते भएका मोटरसाईकलमा सवार रतुवामाई -६, का प्रकाश भेटवाल र खगेन्द्र भेटवालको विराटनगर स्थित न्यूरो हस्पिटलमा उपचार भई रहेको इलाका प्रहरी कार्यलय सिजुवाले जानकारी दिएको हो ।

दुर्घटनापश्चात दुर्घटना स्थल पुगेको प्रहरीले शंका लागेपछि वडा सदस्य मियाँको ट्याक्टरमा चेकजाँच गर्दा जुटको बोराभित्र हालेर धानको बोराले माथिबाट छोपेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २५ क्विन्टल चिनी बरामद गरी नियन्त्रणमा लिएको थियो ।

अवैध रुपमा तस्कर गरिएको सामान थप अनुसन्धानका लागि विराटनगर भन्सार कार्यलयमा बुझाउने कुरा सोमबार विहान घटनाको वास्तविकता सार्वजनिक गर्नेक्रममा इलाका प्रहरी कार्यलय सिजुवाका प्रहरी निरिक्षक मोहन रायमाझीले बताए । आफ्नो ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको थाहा पाए लगत्तै वडा सदस्य सदिर मियाँ फरार रहेका स्थानीय बासीहरुले जानकारी दिए ।