इलाम : रुपन्देहीको गोर्खा ब्वाइजलाई टाइव्रेकरमा हराउँदै लिग बिजेता मछिन्द्र क्लब इलाममा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त २० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णयका लागी टाइव्रेकर रोजिएको थियो । हमजतको प्रहार बारमा लागेर बाहिरिएपछि रुपन्देहीको यात्रा क्वाटरफाइनलबाटै समाप्त भयो । मछिन्द्रका रजिन धिमाल, बुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङको प्रहारले जाली चुम्यो । रुपन्देहीका फोफोना फोडे, पाल्साङ लामा र गौतम श्रेष्ठको प्रहार गोलमा परिणत बन्यो ।

सुरुवाती ११ मा राष्ट्रिय टोलीका ५ र ३ जना पुर्व राष्ट्रिय टोलीका सदस्य सहित मैदान उत्रिएको मछिन्द्र पहिलो हाफमा केही दबाबमा परेपनि दोश्रो हाफमा आक्रमक बनेको थियो । खेलमा दुवै टिमका १-१ जना खेलाडीले पहेलो कार्ड पाएका थिए ।  ६३ औ मिनेटमा रुपन्देहीका पाल्साङ लामा र ८७ औ मिनेटमा पिटर सेगुनलाई रेफ्री श्रवण लामाले पहेलो कार्डको दर्शन गराए । दुवै टिमले केही राम्रा मुभहरु बनाएपनि सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा पेनाल्टी एरियामा पाएको अवसरलाई रुपन्देहीका शक्ति राईले सदुपयोग गर्न सकेनन् । दोश्रो हाफको ६० औ मिनेटमा हमजतको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए । ६४ औ मिनेटमा रजिन धिमालको प्रहारमा देवेन्द्र तामाङको हेडर पोष्टमाथीबाट बाहिरियो । ७९ औ मिनेटमा पेनाल्टी एरियामा मछिन्द्रका निया एन्ड्रिसको प्रहार बाहिरियो । ८५ औ मिनेटमा रजिनको प्रहार रुपन्देहीका गोलरक्षक सोजित गुरुङले पञ्च गरेर बाहिर पठाए । खेलको म्यान अफ दि म्याच मछिन्द्रका रजिन धिमाल घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

खेलपछि प्रतिक्रिया दिँदै रुपन्देहीका प्रशिक्षक किशोर केसीले पराजित भएपनि खेलाडीहरुको प्रर्दशनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । ‘ राष्ट्रिय खेलाडीले भरिएको टिम विरुद्ध मेरा केटाहरुले कडा टक्कर दिएका हुन् । खेल हो हार जित हुन्छ तर हामीले सम्मानजनक हार ब्यहोर्यौं ।’ उनले भने ‘ लकले फेभर गरेन पाएका केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनौ ।’

यता झापाका प्रशिक्षक प्रवेश कट्बाल विपक्षीले कडा टक्कर दिएको बताए । उनले विशाल राई, एडिलाज सोमिडे लगायतका खेलाडीहरु इन्जुर्ड भएका कारण सुरुवाती ११ मा उतार्न नसक्दा दबाबमा परेको बताए । ‘ जित्ने संभावना बढी नै थियो तर विपक्षीको लक्ष्य बराबरी गर्नु थियो त्यो गरे टाइव्रेकर हाम्रो पक्षमा पर्यो ।’ उनले भने ‘ पहिलो हाफमा केही दबाब भएपनि दोश्रो हाफमा खुलेर खेल्न सक्यौ ।’ जितसंगै फाइनल प्रवेशका लागी मछिन्द्रले दार्जिलिङको मानेभञ्ज्याङ एफसीसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लबले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । आयोजकले गान्तोक सिटि फुटबल क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । फागुन २४ गते फाइनल हुने प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपविजेताले नगद ५ लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख २५ हजार प्रदान गरिने छ ।