धरान :  ब्लिङ्क इभेन्ट म्यानेजमेन्ट प्रालिले अनाथ असहाय तथा बृद्धबृद्धाहरुको सहयोगार्थ आयोजना गरेको तेस्रो यले साँझबाट संकलित रकमले विभिन्न क्षेत्रमा सहयोग प्रदान गरेको छ ।

सोमबार धरान १२ मा रहेको पुनर्स्थापना केन्द्रमा बिहानको खाना र २५ हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरीएको थियो । । अहिले उक्त पुनर्स्थापना केन्द्रमा २७ जना अशक्त, असहायहरुले आश्रय लिइरहेका छन् ।

यसैगरी मंगलबार धनकुटाको मुलघाटमा रहेको विश्रान्ती वृद्धाआश्रममा बिहानीको खाना खुवाइनुका साथै २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरीएको छ । अहिले विश्रान्ती वृद्धाआश्रममा ४३ जना वृद्धवृद्धाहरुले आश्रय लिएर बसेका छन् ।
यसका साथै अन्य सहयोगीहरु समेत गरी वृद्धाआश्रममा जम्मा ५३ जना रहेको आश्रमका सहजकर्ता पदमप्रसाद काफ्लेले जानकारी दिएका छन् । वृद्धाआश्रममा ६० वर्ष उमेर समूहदेखि १०५ वर्षसम्मका वृद्धवृद्धाहरु रहेका छन् ।

प्यारालाइसिस भएर थलिएका धरान १५ निवासी मजदुर पुण्य प्याकुरेललाई पनि ब्लिङ्क इभेन्टले समेत सहयोग प्रदान गरेको छ । प्याकुरेलको घरमै पुगेर ५ हजार मुल्य बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुको साथै १ हजार १ सय ५ रुपैयाँ सहयोग रकम समेत प्रदान गरीएको ब्लिङ्क इभेन्टका अध्यक्ष अमित दुमी राईले बताए। प्याकुरेल २०७२ सालमा सवारी दुर्घटनामा परी कम्मर तलबाट प्यारालाइसिस भइ थला परेका छन् । प्याकुरेलको परीवारमा हाल श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।

इभेन्टका अध्यक्ष अमित दुमी राई, आयोजक टिमका सदस्य निशान श्रेष्ठ, सुमिन आर्चाजु, सुमन राई लगायतले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राई, युवा नेता अशोक राई र दिपक बनेपाली, अग्रज पत्रकार जनकऋषि चाम्लिङ, संगठनका नगर अध्यक्ष कमल भट्टराई, धरान खेलकुद विकास समितीका सदस्य विकाश चाम्लिङ, दुमिफन सिक्खिमका अध्यक्ष कृपा राई लगायतको उपस्थिति रहेको थियो ।