इटहरी : मृत्यु भइसकेको व्यक्तिको नाममा रहेको जग्गा गैरकानुनी तरिकाले बेचेको भन्दै तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाई सहित ८ जनालाई मुद्दा दायर भएको छ ।

धरान-१० कि स्वर्गीय रनमाया लिम्बुको किर्ते औँठाछाप लगाई जग्गाको बिक्री गरेको भन्दै ८ जना बिरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आरोप लागेका मालपोत कार्यालय, सुनसरीका कर्मचारीहरूमा तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाई, नायव सुब्बा मनोज घिमिरे, खरिदार कृष्ण प्रसाद नेपाल र राम प्रसाद भट्टराईको छन् । त्यसैगरी इटहरी उपमहानगरमा हाल स्टोर शाखामा प्रमुख रहेका राजेन्द्र धिमाललाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।

तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाई, नायव सुब्बा मनोज घिमिरे, फाँटवाला कृष्णप्रसाद नेपाल, मोठ फाँट रामप्रसाद भट्टराईले २०७० सालमा मृत्यु भएकी रनमाया लिम्बुको नाममा औँठाछाप लगाई आएको लिखतलाई जग्गा लिने र दिने गरेका थिए ।

गैरकानुनी तरिकाले हक नपुग्नेलाई हस्तान्तरण गरेपछि दधिराम गुरागाई, मनोज घिमिरे, कृष्णप्रसाद नेपाल, रामप्रसाद भट्टराईलाई कैद, सजाय र जरिवाना माग दाबी गरेको छ । जग्गाधनी स्वयम उपस्थित नभई नै लिम्बुको नाममा घर बाटो सिफारिस गरेकोले इटहरीका कर्मचारी धिमाललाई मतियारको रूपमा मात्र निवेदन दर्ता गराएको छ ।

अख्तियारले एक लाख ८७ हजार रुपैयाँ घुस लिएर गलत लिखत तयार गरेको भन्दै मुद्दा दर्ता गरेको देखिन्छ । मरिसकेका मानिसको नाममा औठाछाप लगाई व्यक्तिको नाममा मिलेमतोमा जग्गा पास गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

धरान-१० की रनमाया लिम्बुको किर्ते आंैठाछाप लगाई रत्नदेवी लिम्बुको नाममा जग्गा पास गरेको अख्तियारको ठहर छ ।