धरान : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको बताईएको छ । प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।

यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपाली लगायतको टोली थियो । यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको असपतालले जनाएको छ ।