धरान : हिजो र आज झापा, इलाम र मोरङका तिन स्थानमा आगलागी हुँदा घर,अन्नपात तथा धनमाल जली नष्ट हुँदा ७१ लाख ८० हजार बराबरको क्षति भएको छ ।

हिजो साँझ साढे ६ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ फुस्रेमा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासको २ तले घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर पूर्ण रूपमा जलेको साथै घर भित्र रहेको नगद २ लाख ,५ तोला सुन, ल्यापटप ४ थान, कम्प्युटर २ थान लगायतका सामानहरू जलेर नष्ट हुँदा ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसै गरी झापा कमल गाउँपालिका ५ मङ्गलवारे बजारमा रहेको शेर बहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुँदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाँडाकुँडा लगायतका सामानहरू जली नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ ।

यस्तै मोरङ बेलबारी ११ भाङबारी बस्ने नर बहादुर तामाङको घरमा आज बिहान सवाँ ९ बजे बिद्युत सर्ट भई आगलागी हुँदा अन्नपात,फर्निचर लगायतका सामानहरू जली नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ ।