धरान :  दलित विकास समितिद्वारा आयोजना गरिएको एक महिने इलेक्ट्रोनिक तथा वायरिङ तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष मनोज भट्टराईले दलितहरुको समग्र उत्थान र विकासमा समितिले रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउदै समाज विकासमा जात भन्दा बर्ग हेरेर काम गर्न सुझाव दिएका छन् । अहिलेको अवस्थालाई मध्यनजर गरेर वायरिङ तालिम प्रदान गर्नु व्यक्तिलाई मात्र नभएर सिंगो समाजलाई नै फाइदा पुग्ने भएकाले आफुले सिकेको सिप र ज्ञानलाई आयआर्जन संग जोडेर समाज सेवामा समेत समर्पित हुन प्रमुख अथिति भट्टराईले जोड दिए ।
तालिममा सहभागि धरान १७ का हर्कराज चर्मकारले एक महिनाको तालिमले आफुहरु बिजुलीसम्बन्धि विभिन्न काम गर्न सक्ने भएको बताए । त्यस्तै धरान १५ का सहभागी कृष्ण विश्वकर्माले आफुहरुले सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा लिएको र वायरिङ सम्बन्धि काम गरेकोले अब बेरोजगार नबस्ने बताए ।

कार्यक्रममा प्रशिक्षक धनकुमार नेपालीले आफुस“ग राष्ट्रिय सीप परीक्षण समितिद्धारा प्रमाणित प्रमाण पत्र भएको र ठेक्का पट्टामा लामो समयदेखि काम गर्दै आएपनि व्यवसायिक रुपमा अघि बढ्न तालिमले ठूलो अवसर प्रदान गरेको बताए । तालिममा ११ जना प्रशिक्षार्थी सहभागी भए पनि ९ जनाले मात्र सीपमा उर्तिण गरिएकोले उनीहरुलाई प्रमाण पत्रका लागि आफुले सिफारिस गरेको बताए । इलेक्ट्रोनिक तथा वायरिङ सम्बन्धि हाल अत्यन्तै माग भएकोले तालिमबाट उत्पादित जनशक्ति बेरोजगार बस्न नपर्ने धारणा राखे ।

कार्यक्रममा समितिले प्रशिक्षक धनकुमार नेपालीलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो । समितिका संयोजक किशोर परियारको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव तारा लामगादेले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सकुन्तला भुषाले सञ्चालन गरेकी थिइन् ।