धरान : कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै सुनसरी जिल्ला प्रशासन कार्यालयले मानिसको बाक्लो जमघट हुने कार्यक्रम गर्न रोक लगाउने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको हिजो बुधवार बसेको बैठकले सो निर्णय गरेको हो । नजिकिदै गरेको होलीमा ठुलो भीड भेला भएर विगतको जस्तोगरी होली नखेल्न आव्हान गर्ने निर्णय पनि गरेको छ । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले त्यस्ता  कार्यक्रम गर्न अव सुनसरी जिल्ला प्रशासन कार्यालयले अनुमति नदिने प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।

पुर्व निर्धारित कायक्रमहरु संचालन हुन दिने र त्यस्ता कार्यक्रमहरुको समय थपको स्वीकृति भने नदिने निर्णय भएको छ । कोरोनाको उच्च जोखिमका कारण मेला, महोत्सव लगायतका ठुलो संख्यामा मानिसको भेला हुने त्यस्ता सभा सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन जिल्लाबासिलाई जानकारी दिन सुनसरी जिल्ला भरीका प्रहरी कार्यालयहरुलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

केन्द्र सरकारले पनि आउदै गरेको होली नखेल्न आग्रह गरेको छ । भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो । सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।

आगामी दिनमा  प्रदेश सरकारले के कस्तो निर्णय गर्छ त्यही अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आफनो निर्णयहरु परिवर्तन गर्दै जाने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।