इटहरी । भ्रष्टाचार विरोधी जनप्रतिनिधि भनेर चिनिएको इटहरी उपमहानगरका कर्मचारी धमाधम अख्तियारको फन्दामा पर्न थालेका छन् । पछिल्लो ३ वर्षमा ३ जना कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

उपमहानगरका सब इन्जिनियर नरेश कुमार श्रेष्ठ १० हजार घुस सहित पक्राउ परे । इटहरी अख्तियारको टोलीले उनलाई २०७३ भदौ २९ गते आफ्नै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको थियो ।  श्रेष्ठ पक्राउ परेको विषय सेलाउन नपाउँदै सिएफएल बल्ब प्रकरणमा इटहरी उपमहानगरपालिकाका मेयर लगायत जनप्रतिनिधिहरुले स्पष्टीकरण दिनु परेको थियो । तत्कालीन कार्यकारी अधिकृत सागर मिश्रले भुक्तानी दिएको भनिएको सो प्रकरणमा जनप्रतिनिधिको कुनै संलग्नता नभएको पुष्टि भयो । तर उक्त मुद्दा अहिलेसम्म किनारा लाग्न सकेको छैन ।

सिएफएल प्रकरणले बिदा लिन नपाउँदै तत्कालीन वडा नम्बर १० का वडा सचिव विदुर रेग्मी १० हजार घुस सहित रंगेहात पक्राउ परे । इटहरीको हिरा होटेलमा सेवाग्राही सँग पैसा लिँदै गर्दा उनी पक्राउ परेका हुन् । नायव सुब्बा रेग्मीले सिफारिस गर्ने काममा पैसा लिएको अख्तियारले बताएको थियो ।  हाल इटहरी उपमहानगरपालिकाका शाखाका अधिकृत राजेन्द्र धिमाल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीमाथि २०७० कार्तिक १० गते निधन भएकी रनमाया लिम्बुको गलत औँठाछाप लगाई जग्गा बेचेको आरोप छ ।

यही फाल्गुन १९ गते दायर मुद्दामा उनी सहित मालपोत कार्यालय सुनसरीका अधिकृत दधिराम गुरगाई, नासु मनोज घिमिरे, खरिदार कृष्णप्रसाद नेपाल र राम प्रसाद भट्टराई छन् ।

बारम्बार भ्रष्टाचार काण्डमा मुछिने गरेको इटहरी उपमहानगरमा भ्रष्टाचार विरोधी अभियान चलिरहेको छ । मेयर द्वारीकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम आफै भ्रष्टाचार विरोधी अभियन्ता हुन् । भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने बताउँदै आएका मेयर चौधरीले अहिले सम्म कुनै पनि कर्मचारीमाथि प्रमाण सहित कारबाही अगाडी बढाएको देखिँदैन । उता उपमेयर गौतमले भ्रष्टले दिएको एक कप चिया पनि नखाने बताउँदै आएकी छिन् ।