इटहरी : घरायसी विषयमा बुबाले हप्काएको सुनसरी भोक्राहाका १३ वर्षीय अजय मेहेताले आत्महत्या गर्ने प्रयास गरे । मुसा मार्ने औषधी खाएका उनलाई जिल्ला अस्पताल इनरुवामा उपचार नभएपछि विराट नर्सिङ होम पुर्याएर ज्यान बचाइयो ।

सोहिदिन देवानगंञका ३५ वर्षीय दीपक मेहेताले श्रीमतीसँगको विवादमा विषादी 'फोरेट' खाएर आत्महत्याको प्रयास गरे । तत्कालै उपचारको लागि कोसी अस्पताल लगिएका मेहेता अहिले भने बोल्ने अवस्थामा छन् । पछिल्लो समयमा सुनसरी जिल्लामा विविध कारणले आत्महत्याको प्रयास गर्नेहरूको दर दैनिक बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो एक हप्ताको विवरण अनुसार एक दिनमा ५ जना सम्मले आत्महत्या प्रयास गरेको देखिन्छ । फागुन १५ देखि २१ गतेसम्मको घटना विवरणले सुनसरीमा १४ जनाले आत्महत्या प्रयास गरेका थिए ।

प्रहरीले संञ्चारकर्मीहरुको मेलमा पठाउने घटना विवरणमा सबैभन्दा बढी दुर्घटना र आत्महत्या सम्बन्धित विवरण भेटिन्छन् ।

तथ्याङ्क अनुसार सुनसरीमा यही हप्ता मात्र ४ जनाले आत्महत्या गरेको देखिन्छ। आत्महत्या गर्नेहरूमा एक प्रेमी जोडी, एक जना विदेशबाट फर्किएका युवा र एक पुरुष छन् । आत्महत्या प्रयास भने दैनिक एक दुईले गरिरहेको तथ्याङ्कले देखाउँछ ।

सुनसरीमा आर्थिक वर्ष २०७६/७७ को मसिंर सम्ममा १ सय ३५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी रहेको छ कुल सङ्ख्यामा ७२ जना महिलाले आत्महत्या गर्दा ६३ जना पुरुषले आत्महत्या गरेका देखिन्छ ।

औसतमा प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलाम जिल्लामा आत्महत्याका घटना यो आर्थिक वर्षमा बढेको अवस्था छ ।

प्रहरीको अनुसार आत्महत्याका घटना बढ्नुमा प्रमुख कारण पारिवारिक कलह हो । घरायसी विवाद, झैझगडा, गरिबीसँगै अशिक्षा र चेतनाको कमीका कारण आत्महत्या गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल बताउँछन् ।