धरान : धरान १८ बुद्ध चौकमा गएको आईतबार शिलान्यास गरिएको वाबु (चिण्डो)को स्तम्भ बनाउने कुरामा विबाद सुरु भएको छ ।
बुद्ध चोकमा चिण्डोको प्रतिमा स्थापना गर्न शिलान्यास भएपछि बुद्ध चोकको नाम मेटिने भन्दै धरानका ८ वटा गुम्बाहरुले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र  बुझाएका छन् ।

धरानमा रहेका ८ वटा गुम्बाका प्रतिनिधिहरुले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर लिखित रुपमा ज्ञापनपत्र बुझाएका छन् । हाल बुद्ध चोक नामाकरण रहेको धरान १८ मा राई जातिको मौलिक सांकृतिक महत्व बोकेको चिन्डोको प्रतिमा बनाउदा  बुद्ध चौकको नाम नामेट हुने हिमालयन महायानी देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालप्टु शेर्पाले बताए ।

ज्ञापनपत्रमा ङाग्युर ङिङ्मा ङ्युङ्ने ल्हागाङ गुम्बा धरान-१५,नेपाल बौद्ध गुम्बा धरान-१८,स्वयम्भू चैत्य महाबिहार धरान धरान-१२,उर्गेन छोलिङ गुम्बा धरान-५,हिमालयन महायान रिन्छेन छोलिङ गुम्बा धरान-८,हिमालयन महायान देछेन छोलिङ गुम्बा धरान-१८, क्षाबेनाङ्ज्यो शिङ्सा छोलिङ गुम्बा धरान-१५,ङाग्युर ङिङ्मा टासी च्जोलिङ गुम्बा धरान-२० का प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएका हुन् ।

धरान १८ स्थित बुद्ध चोकमा किरात राई जातिको सांस्कृतिक मौलिकता बोकेको वाबु (चिण्डो) को प्रतिमा चौकको बिच भागमा स्थापना गर्ने खबर र सोको शिलान्यास भएको कुरा विभिन्न संचार माध्यमबाट जानकारी भएकोले बौद्ध धर्मावलम्वीहरुको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ ।

वाबु (चिण्डो) निर्माण गर्न गत आईतवार शिलान्यास भएको थियो । वाबु निर्माणका लागि वडाको बजेट ८ लाख रुपैया र स्वर्गीय नरप्रसाद राईको स्मृतिमा ५ लाख ५१ हजार आर्थिक सहयोग सहित कुल १३ लाख पचास हजारमा निर्माण कार्य थालिने बताईएको थियो ।