धरान : नेवार एकता समाज धरानले रक्तदान कार्यक्रममा गरी मुलुकमै उच्चतम रगत संकलन गर्न सफल भएको छ ।

नेवार एकता समाजले आफ्नो सातौं बार्षिक उत्सवको अवसरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा एकै दिन एकै स्थानबाट मुलुकभरीमै सबै भन्दा धेरै ६ सय ५ पिन्ट रगत संकलन गर्न सकेको भन्दै नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाले हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

नेवार एकता समाजले पनि प्रेस विज्ञप्ती जारी गरी मुलुककै सबै भन्दा धेरै रगत संकलन गर्न सफल भएको भन्दै नेपाल रेडक्रस सोसार्ईटी सुुनसरी शाखाले हार्दिक बधाई दिदा हामी अत्यन्तै हर्षित भएका छौं र यो खुसी हामी सम्पूर्ण धरानवासी तथा हाम्रो समुदाय र सहयोगी संघसंस्थाहरुमा शेयर गर्न समेत चाहन्छौं भनेको छ ।

धरानलाई रक्तदाताहरुको शहरका रुपमा समेत परिचित गराउने हाम्रो संस्थाको पवित्र उदेश्य पूरा गराउने अभियानलाई सफलतापूर्वक अघिबढाउन सकिएकोमा हामीलाई गर्व लागेको छ । यो खुसी, यो गौरव धरानको हो, सम्पूर्ण धरानेहरुको हो विज्ञप्तीमा भनिएको छ ।

समाजका उपाध्क्ष महेश श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा सातौं वार्षिकोत्सबको अवशरमा समाजद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सर्वप्रथम हाम्रा पत्रकार साथीहरूले गर्नुभएको महत्त्वपूर्ण योगदानप्रति हाम्रो संस्था नेवार एकता समाज अत्यन्तै कृतज्ञ छ, भन्ने उल्लेख छ ।

बृहत् रक्तदान कार्यक्रममा सहभागी हुनुभएका रक्तदाता, स्वास्थ्यकर्मी, सहयोगी महानुभाव एवं संघसंस्थाहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन समाजले विज्ञप्ती मार्फत गरेको छ ।