झापा ।  झापाको दमक-४ का भेषबहादुर बुढाथोकीले आफ्नो दुवै मिर्गौला फेल भएका कारण उपचार सहयोगकालागी अपिल गरेका छन् । श्रीमती र एक छोराका अभिभावक बुढाथोकीले आफू अझै बाँच्न चाहेको र बचाइदिन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा अपिल समेत गरेका छन् ।

विराटनगर स्थित नोबेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका उनलाई डाक्टर शैलेन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपणको सुझाव दिएपछि अहिले बुढाथोकी परिवारलाई मात्र हैन स्थानीयलाई पनि आर्थिक सङ्कलनको तनाव छ । बुढाथोकीलाई बचाउन  टोलका स्थानीयहरू अभियान चलाइरहेका छन् । अभियान्ताहरुले बुढाथोकीको जीवन रक्षाका लागि सबै सामु अपिल गरेका छन् । भेषबहादुर बुढाथोकी बचाउ अभियानका कोषाध्यक्ष गङ्गाराम बुढाथोकी भेषबहादुरलाई बचाउन देश तथा विदेशमा रहेका सम्पूर्ण आफन्त नातागोता साथीभाइहरूलाई सहयोगका लागी आग्रह गरिरहेको बताए ।

सिटी सफारी चलाएर परिवार पाल्दै आएका आफ्ना श्रीमानलाई केही भयो भने कसरी जिउने भन्ने चिन्ता पनि उस्तै छ परिवारमा । “अहिले प्रधानमन्त्रीको त मिर्गौला प्रत्यारोपण भयो तर हामी त गरिब पर्‍यौ हामीले त कसरी गर्ने भन्ने चिन्ता गर्न बाहेक केही गर्न सकेका छैनौँ,” आशु झार्दै श्रीमती तेजकुमारीले भनिन् । न त सम्पत्ति छ न त कुनै आधार, हाम्रो त बिचल्ली भएको छ, काखमा सानो छोरालाई च्याप्दै उनले सुनाइन ।

जिबनमरणको दोशाधमा रहेका भेषबहादुरलाई अहिले आर्थिक सहयोगको खाँचो छ । उहाँलाई सहयोग गर्न चाहने मनकारी दाताले एनआईसी एसिया बैङ्कमा भेषबहादुर बुढाथोकीको नाममा रहेको खाता नम्बर २५५५७५०७९५९००००१ मा रकम जम्मा गर्न सक्ने बचाउ अभियानले जनाएको छ ।