इटहरी । वैशाखदेखि सञ्चालनमा आउन लागेको पूर्वकै पहिलो पाँचतारे होटेल मेची क्राउनमा होटेलमा म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीको अवलोकन भ्रमण जान थालेका छन् ।

झापा धुलाबारीमा रहेको होटेलमा पूर्वका होटेल म्यानेजमेन्ट विषय अध्यापन गराउने विभिन्न कलेजहरूले बिद्यार्थीहरुलाई भ्रमणको लागि जान थालेका हुन् । पूर्वमा पाँचतारे होटेल सञ्चालन नहुँदाको अवस्थामा यहाँका कलेजहरूले काठमाडौँ, पोखरा र भारतसम्म विद्यार्थी भ्रमणका लागि लाने गर्दथे ।

अहिले भने मेची क्राउन एचएम सम्बन्धी बिद्यार्थीहरुको लागि अध्ययन भ्रमण र इन्टर्नसिपको उपयुक्त थलो बनेको छ । होटेल म्यानेजमेन्ट विषयको फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड एन्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ र अध्ययनको लागि बिद्यार्थीहरुलाई होटेल लाने गरिन्छ ।

मेची क्राउनमा अहिले हप्ताको दुई वटा कलेजहरूले विद्यार्थी भिजिट गराउने गरेको होटेलका प्रबन्धक नितेश पोखरेल बताउँछन् । पाँच तारे होटेलको व्यवस्थापन र खानपानको विषयमा बिद्यार्थीहरुलाई जानकारी गराउन पाउँदा होटेलको प्रचारसँगै उनीहरूको सिकाइ राम्रो हुने उनको भनाई छ ।

साथै एचएम अध्ययन सकेपछि त्यही बिद्यार्थीहरुले होटेलमा रोजगारको अवसर पनिप्रदान गर्ने होटेलको योजना रहेको पोखरेलको भनाई छ ।

‘अहिलेका युवा युवतीहरूमा होटेल म्यानेजमेन्ट सम्बन्धी राम्रो क्रेज देखिन्छ, पूर्वमा सञ्चालित कलेजका बिद्यार्थीहरु होटलमा नै काम गर्ने भएकाले पनि मेची क्राउन सबैको रोजाइ बनेको छ’ ।

Mechi-crown-2

पोखरेल भन्छन् ‘होटेल भ्रमणको लागि आउने बिद्यार्थीहरु अध्यान सकेर पाँच तारे होटेलमा काम गर्न इच्छुक देखिएका छन्’ ।

दि पिक म्यानेजमेन्ट प्रा.लिबाट सञ्चालित मेची क्राउनले एचएम अध्ययन गर्ने विद्यार्थी तथा कलेजहरूसँग सदैव सहकार्य गर्ने अध्यक्ष दीपक लेखक बताउँछन् । अहिलेसम्म विभिन्न स्थानका ५ वटा कलेजले होटेलमा अध्यान भ्रमण गराइसकेको समेत उनले जानकारी दिए ।

झापा बिर्तामोडमा रहेको इस्टर्न अम्पायर कलेजका सञ्चालक आलोक कार्की पनि पूर्वमा पहिलो पटक सञ्चालनमा आएको मेची क्राउन विद्यार्थीका लागि इन्टर्नसिप र भ्रमणको लागि उपयुक्त थलो बनेको बताउँछन् ।

‘विद्यार्थीका लागि पाँचतारे होटेलको व्यवस्थापन र खानपान सम्बन्धी अध्ययन भ्रमण सम्बन्धी कोर्ष हुनेगर्छ, तर पाँच तारे सुविधाको होटेल नहुँदा हामीले विद्यार्थीलाई काठमार्डौ, पोखरादेखि भारतसम्म लानु पर्ने बाध्यता थियो । तर अहिले हामीलाई धेरै सहज भएको छ’ ।

मेची क्राउन सञ्चालनले एचएम पढ्ने विद्यार्थीको करियर र क्षमतालाई थप निखार्ने अवसर प्राप्त भएको कार्कीले भनाई छ ।

कलेजले शुक्रवार आफ्ना ९० जना विद्यार्थीलाई होटेलको अध्यान भ्रमण गराएको थियो । भ्रमणमा सहभागी बिद्यार्थीहरु पनि सञ्चालनमा आउन लागेको पहिलो पाँचतारे होटेलको अध्यान भ्रमण गर्न पाउँदा निकै उत्साहित बनेको बताए ।

पढाई सके पश्चात् विदेश भन्दा पनि स्वदेशमै काम गर्ने अवसर मेची क्राउनले उपलब्ध गराउने विद्यार्थीको अपेक्षा थियो ।

डेढ अर्व लगानीमा निर्माण भएको मेची क्राउन आगामी वैशाखदेखि सञ्चालनमा आउने अन्तिम तयारीमा छ । मेची क्राउन होटेलको व्यवस्थापन पहिलो नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको हो ।