इटहरी : अन्तर्राष्ट्रिय रूपमा नारी दिवस मनाउँदै गर्दा इटहरीमा एक कार्यक्रम गर्दै तेस्रो लिङ्गी तथा अल्पसङ्ख्यकहरूले भने आफूहरू झन् ठुलो हिंसामा परेको बताएका छन् । पाउने संवैधानिक सुविधाहरूबाट समेत वञ्चित हुनुपरेको दु:खेसो गर्दै राज्यले आफूहरू प्रति जिम्मेवार हुनु पर्ने माग राखेका हुन् ।

आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा तेस्रो लिङ्गी अल्पसङ्ख्यकहरूले राज्यबाट नागरिकताको अधिकार पाए पनि वैवाहिक मान्यता नपाउँदा समस्या बढेको गुनासो गरेका समेत बताएका छन् । इटहरीको युवा विकास केन्द्र अन्तरगत सभा हलमा आयोजित कार्यक्रममा अल्पसङ्ख्यकहरूले समाजमा खेलेर हिँड्न नसकेको देखेसो गरेका थिए ।

काठमाण्डौ बाट अन्तरक्रियामा सहभागी हुन आएका पिटर राईले तेस्रो लिङ्गीहरूको वैवाहिक मान्यता नभएको प्रति दु:ख व्यक्त गरे । आफूहरूको चाहनालाई समाजले अझै पनि अवैधानिक र असामाजिक देख्ने गरेको उनको गुनासो छ ।

'न हाम्रो आवश्यकतालाई ख्याल गरिएको छ न त जीवन निर्वाहमै आरक्षणको व्यवस्था छ' पिटरले भने 'राज्यबाट पनि रोजगारीको अवसर नपाउँदा सिङ्गो समुदाय नै अफ्ठेरोमा छौ ।'

त्यस्तै अर्की सिम्रन शेरचनले संविधानले नागरिकताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा तेस्रो लिङ्गीहरूमाथि हुने भेदभाव अझै कायमै रहेको बताइन । उनले नागरिकता सँगै वैवाहिक मान्यता पनि दिइनुपर्ने र राज्यले रोजगारको समान व्यवहार उपलब्ध गराउनुपर्नेमा जोड दिइन ।

अन्तरक्रियामा उपस्थित अधिकांश तेस्रो लिङ्गीहरूले समाजबाट आफूहरूलाई हेरिने नकारात्मक दृष्टिकोण र राज्यबाट समान व्यवहार साथै घरपरिवारबाट पनि अपमानित हुनुपरेको गुनासो गरेका थिए ।