पथरी : नेपालमा पहिलो पटक सहकारीको अवधारणा ल्याउने चितवनका वखानसिंह गुरुङ्गको शालिक पथरीमा निर्माण हुने भएको छ । सहकारीका प्रणेता समेत मानिने गुरुङ्गको सालिक सहित र सहकारी पुस्तकालय र तालिम हलको शिलान्यास गरिएको छ ।

सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको संयोजनमा सो शालिकको निर्माण हुने भएको होे ।करिव २८ लाख रुपैयाँ अनुमानित खर्चमा सो भौतिक संरचना र शालिक निर्माणको काम सम्पन्न गरिने कर्मचारी संगठनका अध्यक्ष गणेश राईले बताए ।पथरीमा बन्न लागेको स्वः बखानसिंह गुरुङको शालिक सम्भवत नेपालमै पहिलो हुने संगठनको दावी समेत रहेको छ । सो शालिक पथरी शनिश्चरे रहेको मनकामना सामूदायिक वन कार्यालय नजिकै निर्माण हुने छ ।


शालिक सहितको भवन निर्माणकालागी पथरीशनिश्चरे नगरपालिका, विभिन्न सहकारी संस्थाहरु, छाता संघ,बैङ्क, वडा कार्यालयहरु, स्थानीय बैङ्क, छिमेकी पालिकाहरुले आर्थिक सहयोग गर्ने भएका छन् । शालिकको अनावरण चैत २० गते गरिने अध्यक्ष राईले जानकारी दिए । शालिक निर्माण पछि सो स्थानलाई सहकारी पर्यटनको हवका रुपमा विकास गर्न सकिने योजना संगठनले बनाएको छ । शालिक निर्माणसँगै सहकारी पुस्तकालय, बस्नकोलागि चौतारो र तालिम हलको निर्माण गर्ने योजना संगठनको रहेको छ ।