काठमाडौं : कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् ।

पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छोडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ । कलंकीमा बस्दै आएका सन्देश विष्टले भने,‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै पर्यो ।’

यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्मोमिटरको पनि अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मास्क, सेनिटाइजर र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना गरी कसैले लुकाउनु अपराध भएको बताए ।

उनले भने,‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरकारले तीन-चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ ।