धरान : धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटो धनकुटे रोड होली लगत्तै मर्मत हुने भएको छ ।

सोमवार धरान उपमहानगरपालिका मेयर तिलक राई सहितको टोलीले धनकुटे रोडको स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा मेयर राईले ठेकेदारलाई तुरुन्त काम थाल्न निर्देशन दिएका छन् ।

विषेशगरी बिरामी बोकेर एम्बुलेन्स हिड्ने बाटोमा खाल्डाखुल्डी भएर सवारी साधन आऊ जाऊ गर्नमै समस्या भएको भन्दै धरान-८ का प्रज्वल श्रेष्ठ, नारायण बास्तोला, निकेश कार्की, अनीश बस्नेतको समूहले खाल्डा खुल्टी सडकमा सिमेन्ट, बालुवा र गिट्टीले टालटुल गर्न थालेपछि मेयर राईले युवाहरूको कामको प्रशंसा गर्दे ठेक्का लागि दिइसकेको सडक नगरपालिकाले बनाउने बताएका थिए ।

सिमेन्ट गिट्टीले टालटुल गर्दा फेरी उप्काएर पिच गर्नुपर्ने भएकोले युवा समूहलाई धरान उपमहानगरपालिका आफैले बनाउने भएकोले त्यसो नगर्न आग्रह गरेको थियो ।

इन्जिनियर सुरज श्रेष्ठ, राजु पोख्रेल र अरू प्राविधिकहरुसंग सडकको अनुगमन गर्न पुगेका मेयरले प्रतिष्ठानमा आउजाउ गर्ने मुख्य सडक धनकुटे रोड भएकोले तुरुन्त मर्मत सम्भारको काम थाल्न श्याम कन्स्ट्रक्सन प्रतिनिधि प्रवीण क्षेत्रीलाई निर्देशन दिए । श्याम कन्स्ट्रक्सन प्रतिनिधि प्रवीण क्षेत्रीले पनि होली लगत्तै काम थाल्ने बताए । धनकुटे रोड पुरानो ट्राफिक कार्यालय अगाडी देखि रेल्वे चौक सम्म मर्मत सम्भार हुने धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले बताए ।

इन्जिनियर श्रेष्ठका अनुसार धरान भरी सहरी सडक निर्माणका लागि भनेर १ करोड १० लाखमा जम्मा ७ वटा सडकको मर्मत गर्न ठेक्का लागि सकेको बताए ।

धनकुटे रोड पुरानो ट्राफिक कार्यालय देखि रेल्वे चौक सम्म, धरान ९ को गौतम पथ, धरान १५ को एभरेस्ट लाइन, धरान-१६ को भगवती मार्ग, धरान १६ को चन्द्र संस्कृत मार्ग, धरान १३ को फुस्रे जाने बाटो अमर पथ र कृषि बजार भित्रको सडक मर्मत सम्भार हुदैछन् ।

पुरानो ट्राफिक कार्यालय देखि रेल्वेचौक सम्मको मर्मत ४,५ दिनमा सक्ने र बाँकी सबै गरी ज्येष्ठ मसान्त सम्ममा सकिने लक्ष्य रहेको इन्जिनियर सुरज श्रेष्ठले बताए ।