धरान : विश्वमा महामारीको रूपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको जोखिमका कारण सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सँगै प्रशासनले ठुलो समूहमा भेला भएर होली नखेल्न आव्हान गरेको छ ।

नेपालमा सङ्क्रमण फैलिएर आत्तिनु पर्ने अवस्था नै आइसकेको अवस्था नभए पनि उत्पत्ति मुलुक चीनसँग भौगोलिक रूपमै सिमाना जोडिएका कारण विशेष सावधानी अपनाउन जरुरी भएको हो ।

धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरानले माइकिङ नै गरेर यस्तो आव्हान गरिरहेका छन् । विश्वमा तीन हजार बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुने भन्दै सार्वजनिक ठाउँमा ठुलो समूहमा भेला भएर होली नखेल्न आव्हान गरिएको हो ।

तिलक राई - मेयर
धरान उपमहानगरपालिका
नेपालीहरूमा फागु अर्थात् होली पर्वको छुट्टै सांस्कृतिक महत्त्व भएको पर्व हो ।

यो पर्वले सवैमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध कायम गर्न सकोस् भन्दै यस पटकको होली पर्वमा रमाउँदै सचेत र सजग रहेर रमाउन अनुरोध गर्दछु । धरान उपमहानगरपालिकाले होली पर्वमा ठुलो जमघट गरेर सार्वजनिक ठाउँमा भेला भएर होली नखेल्न र कोरोना सङ्क्रमणबाट जोगिन यस अघि नै सुचन निकाली सकेको छ ।

त्यसैले सम्पूर्ण महानुभावहरूलाई होली कोरोनाको जोखिम मोलेर नखेल्न आग्रह गर्दछु ।

ढुण्डिराज न्यौपाने - प्रहरी नायव उपरीक्षक (डिएसपी)
इलाका प्रहरी कार्यालय धरान
होली पर्वमा विगतका वर्षहरूको तुलनामा यस पटक स्वास्थ्यको हिसाबले निकै संवेदनशील भएर सर्वसाधारणलाई खेल्न अनुरोध गर्दछु ।

जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार सार्वजनिक ठाउँमा ठुलो समूहमा भेला भएर होली खेल्न नपाइने सूचना जारी भए सँगै प्रहरीलाई पनि परिचालन गरिएकोले यस्तो भिडभाडबाट कोरोना सङ्क्रमण हुने जोखिम बढी हुने भएकोले धरान प्रहरीले ठुलो जमघट हुन नदिन तयारी अवस्थामा रहेको छ ।

धरानमा होलीमा हुन सक्ने आपराधिक घटनाको नियन्त्रण र न्यूनीकरणका लागि १ सय ४० जना प्रहरी परिचालन गरिने छ ।

उमिता बराइली- प्रदेश सांसद
धरानमा मात्रै होइन एक नम्बर प्रदेशका सबै जिल्लामा सामुहिकरुपमा ठुलो भेला भएर होली नखेल्न प्रदेश सरकारले आग्रह गरेको छ ।

यसो गर्नुको मुख्य कारण विश्वव्यापीकरण फैलिरहेको कोरोना भाइरसको जोखिमका कारण सरकारले रोक लगाएकोमा सबैले सरकारको निर्णयलाई साथ दिएर नेपालमा कोरोना भित्रिन नदिन अनुरोध गर्दछु ।

सविता राई - अध्यक्ष
महिला सञ्जाल धरान
बिषेशगरी होली पर्वमा रमाउनु एकले अर्कालाई रङ्ग लगाएर पर्व मनाउँदा आपसी सद्भाव कायम हुन्छ ।

तर यस पटक भने विश्वमा महामारीको रूपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको जोखिमबाट जोगिन र सबैलाई जोगाउनका लागि सभा सम्मेलन र ठुलो भीडमा होली पर्व नमनाऔँ ।

घरमै एक आपसमा पारिवारिक तरिकाले मनाऔँ । धार्मिक मान्यता रहेको होली पर्वलाई पूर्ण रूपमा नमनाउन भन्दा पनि परिवार र सानो समूहमा मात्र मनाऔँ । कोरोनाबाट बच्न सफा र गुणस्तरीय अबिरको प्रयोग गर्ने, होली खेल्दा मास्क लगाउने, नचिनेका मानिसहरूसँग होली नखेल्न पनि अनुरोध गर्दछु ।

डा. सञ्जीव शर्मा- मेडिसिन विभाग प्रमुख
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
कोरोनाको कारण सरकारले जुन निर्देशन गरी आव्हान गरेको छ त्यसलाई सबै नागरिकले मान्नुपर्छ ।

स्वास्थ्यलाई जोखिममा राखेर होली नखेल्दा राम्रो हुन्छ । यदि खेल्नै परे सुरक्षित पारिवारिक रूपमा खेल्न आग्रह गर्दछु ।

होली सार्वजनिक ठाउँमा खेल्दा अरूलाई लगाएको त्यही फोहोरी हातले अर्को व्यक्तिलाई लगाउँदा कोरोना जस्तो खतरनाक रोगको जोखिम हुन्छ । त्यसैले स्वास्थ्यलाई जोखिम पारेर होली समूहमा नखेलेकै राम्रो ।