एजेन्सी : बेलायती स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सासंद नदिन डोरिजले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएकी छन्।

डोरिज बेलायतमा कोरनाभाइरसको परिक्षणमा 'पोजेटिभ' पाइएकी पहिलो सासंद हुन्। आफूलाई संक्रमण भएको पुष्टि भएपछि अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाइरहेको उनले बताएकी छन्। हाल उनी आफ्नै घरमा सेल्फ आइसोलेसनुमा बसिरहेकी छन्। बेलायतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जनामा संक्रमित भएका छन्।

डोरिजमा कोरनाभाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँको पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको लगत निकाल्न थालेको छ। उनले हालैका दिनहरूमा वेस्ट मिनिस्टर र आफ्नो निर्वाचन क्षेत्रमा कतिवटा भेटघाट गरिन् भन्ने एकिन भइसकेको छैन। संक्रमण भेटिएकी ६२ वर्षिया डोरिजले ट्वीट गर्दै 'सार्है खराब भयो तर मलाई जहाँसम्म लाग्छ म यसको सबैभन्दा खराब अवस्थामा छु' भनेकी छन्।

ट्वीटमा उनले आफूसँग बस्दै आइरहेकी आफ्नी ८४ वर्षिय आमाले खोक्न सुरु गरेकाले त्यसलाई लिएर आफू चिन्तित रहेको बताएकी छन्। 'उहाँको भोलि परीक्षण हुँदैछ। सुरक्षित रहनुहोस् र सबै जना हात धुँदै गर्नुहोस्', ट्वीटमा उनले भनेकी छन्। त्यहाँको स्वास्थ्य विभागका अनुसार बिहीबार उनले पहिलोपटक संक्रमणको लक्षणहरू देखाइएकी थिइन्। सो दिन उनी प्रधानमन्त्रीले डाउनिङ् स्ट्रिटमा आयोजना गरेको कार्यक्रममा सहभागी बनेकी थिइन्।

शुक्रबारदेखि उनी सेल्फ आइसोलेसनुमा बसिरहेकी छन्।

प्रधानमन्त्री बोरिस जोन्सन पनि सो कार्यक्रममा सरिक भएकाले उनको पनि कोरोना परीक्षण भए-नभएको वा गरिने/नगरिने भन्ने बारेमा केही सार्वजनिक नभएको बिबिसीले आफ्नो समाचारमा लेखेको छ।  स्वास्थ्य सचिव म्याट हानककसहित डोरिजको सम्पर्कमा आएका सबै सरकारी अधिकारीहरूको कोरोनाभाइरस परीक्षण गरिनेछ।

बेलायतले हालसम्म २५ हजार वटा कोरोनाभाइरस संक्रमणको परीक्षण गरिसकेको छ। उसले आफ्नो परीक्षण क्षमतालाई विस्तार गर्ने तयारी गरेको छ। उसले प्रतिदिन १५ सयबाट आफ्नो परीक्षण क्षमतालाई प्रतिदिन १० हजार पुर्‍याउने तयारी थालेको बिबिसीले जनाएको छ।