धरान : सुनसरीको बराह क्षेत्र नगरपालिका-८ शुक्रबारेमा आगलागीमा परि ४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदिप र हरिमाया राईका एक्लो छोरा सुक्रिन रहेका छन् ।

मङ्गलवार बिहान घरमा लागेको आगोका कारण बालकको ज्यान गएको हो । आगलागीमा परेका बालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्चार्ज शरणकुमार दाहालले जानकारी दिए । खरको छानो भएको घर आगलागीबाट पूर्णरुपले नष्ट भएको छ । घटनामा बालककी आमा हरिमाया राई सामान्य घाइते भएकी छिन् । घटना भएको बेला मृतकका बाबु झापा गएको र आमा घरायसी काममा बाहिर रहेकी छिन् ।

प्रहरीको प्रारम्भिक अनुमानमा बालकको शव निकै समयको खोजीपछि खाटामुनि आलुको बोराको चेपमा भेटिएको थियो । इन्चार्ज दाहालका अनुसार यदि आगो लागेकै समयमा बालकलाई भेटिएको भए उनलाई बचाउन सकिने थियो ।मृतक बालकको शव पोस्टमार्टमका लागि धरान स्थित वि .पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जानकारी दिएको छ ।