इटहरी : गत फाल्गुन २५ गते साथीको विवाहमा हिँडेका नीरज क्षेत्री बिच बाटोबाटै फर्किए । सुन्दरहरैचा ७ का उनी इटहरीसम्म हिँडेका थिए । बुढी खोलाको पुलमा बाइक चिप्लिए लडेपछि हिलाम्मे भए । भर्खरै पानी परेर रोकिएकोले सडक पुरै हिलाम्मे थियो । पुलको बिचमा ठुला ठुला खाल्डा परेका छन् । पानी परेको बेला खाल्डा नदेखिने हुँदा नीरज दुर्घटनामा परेका हुन् ।

गत असारमा धरानको वीपी प्रतिष्ठानबाट बिरामी भेटेर फर्किएकी सुनिता कार्की भोटेपुल नजिकै दुर्घटनामा परिन् । पानी परेको र साँझको समय भएकोले तीव्र गतिको उनको स्कुटर चिप्लियो । भर्खरै वीपी प्रतिष्ठानबाट फर्किएकी उनी पुन वीपीमै भर्ना भइन् । सामान्य उपचार पछि उनी भोलिपल्ट डिस्चार्ज भइन् ।

सुनिता र नीरज प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय कोसी राजमार्ग र पुर्वपश्चिम राजमार्ग भएका खाल्डाखुल्डीको कारण दैनिक जसो दुर्घटना बढिरहेका छन् । दुर्घटनाको उच्च जोखिममा छन् राजमार्गहरू । हतारमा हाकीएका दुई चक्के सवारी बढी जोखिममा हुने गर्छन् । समय गुज्रिसकेका पुलको समयमै मर्मत नहुँदा ठुला दुर्घटनाको जोखिम बढिरहेको छ । लोहोन्द्रा, गछीया, बुढी, टेङ्ग्रा खोलाको पुलको बिचमा ठुला ठुला खाल्डा परेका छन् ।

Itahari-News-1

गत साउनमा परेका खाल्डा लामो समय बितिसक्दा समेत मर्मत हुन सकेका छैनन् । जसको कारण दैनिक घण्टौँसम्म जामको दु:ख बेहोर्नु परीरहेको छ । बजारको छेवैमा पर्ने यस्ता पुलहरूको समयमै मर्मत नहुँदा दैनिक यात्रा गर्ने यात्रु देखी स्थानीयलाई समेत सकस परिरहेको छ । पुलको बिचमा मात्र हैन राजमार्गको बिचमा भत्किएको सडक मर्मतको काम हुन सकेको छैन । मर्मतको नाममा गिट्टी बालुवा हाल्ने काम भइरहेको छ । जसले गर्दा सुख्खा मौसममा धुलो र पानी पर्दा हिलोको दुख भोग्न बाध्य छन् यात्रु ।

यात्रु देखी सवारीको आयुको कुनै ग्यारेन्टी हुँदैन । त्यसैले राजमार्ग यमराज मार्गको रूपमा रूपान्तरण भइरहेको छ ।
यता सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञवाली अब केही दिनमै यो समस्या समाधान हुने बताउँछन् । केही पुलको काम सुरु गरिसकिएको र बाकी काम केही दिनमै सुरु हुने उनले बताए । यस अघि नै कन्ट्रयाक भइसकेकोले होलीको कारण रोकिएको थियो अब द्रुत गतिका काम हुने उनको भनाई छ ।