इटहरी : इटहरी उपमहानगरपालिकाले बुधवार इटहरी बजारको अनुगमन गरेको छ ।

कोरोना भाइरसको सन्त्रासका कारण बजारमा ग्याँस र मास्क अभाव भएको गुनासो आएपछि इटहरी उपमहानगरले बजार अनुगमन गरेको हो ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा बजार अनुगमन गरिएको हो । सात वटा ग्याँस डिलरको अनुगमन गर्दा २ वटामा ग्याँस सकिएको पाइएको थियो ।

एउटामा पसल बाहिर खाली सिलिन्डर राखिएको तर भित्र भरिएका सिलिन्डर राखेको र अरू चार वटा ग्याँस डिलरमा बेचबिखन भइरहेको पाइएको थियो । तीन वटा औषधी पसलमा अनुगमन गर्दा मास्क भने पाइएन । मास्क अभाव देखिए पछि इटहरी उपमहानगर आफैले मास्क उत्पादन गर्ने हो कि भन्ने विषयमा सल्लाह गर्ने उपमेयर गौतमले बताइन् ।

बजार अनुगमनका क्रममा बाहिरै राखेर ग्याँस बिक्री गरिरहेका ग्याँस डिलरहरूलाई बजार अनुगमनको क्रममा उपपमेयर गौतमले धन्यवाद दिएकी थिइन् । ग्याँस भएर पनि बाहिर राखेर नबेचिएका ठाउँमा बाहिरै देख्ने गरी ग्याँस राखेर बेचबिखन गर्न भनिएको छ । इटहरीका ग्याँस डिलरहरूले माग अनुसार उद्योग लेनै ग्याँस नपठाउने गरेको गुनासो गरेका छन् ।

उपभोक्ताहरूले सञ्चित गरेर राख्न एक भन्दा घेरै ग्याँस सिलिन्डर लिन थालेपछि पनि अभाव जस्तो देखिएको उनीहरूको भनाई छ । इटहरी उपमहानगरले बजार अनुगमनलाई निरन्तरता दिने उपप्रमुख गौतमले बताइन् । इटहरी उपमहानगरले महिनाको २ पटक सम्म नियमित अनुगमन गर्दै आएको छ ।