धरान : इन्दिरा कार्की, आदर्श उच्च मावि चतराको कक्षा १२ कि विद्यार्थी हुन् । उनलाई अरू दिनको तुलनामा शनिवार निक्कै महत्त्वपूर्ण लाग्छ । विदाका कारण शनिवार त्यसै पनि महत्त्वपूर्ण दिन हो । तर इन्दिरालाई शनिवार विदाका कारण होइन चरा हेर्नका लागि महत्त्वपूर्ण हुने गर्दछ ।

इन्दिरा मात्रै होइन, हरेक शनिवार बिहान साढे ६ बजे देखि चरा हेर्न इन्दिरा जस्तै करिब १५ जना बालबालिका भेला हुने गर्दछन् । बराहक्षेत्र नगरपालिकाको वडानं. २ जव्दिमा रहेको कोसी वर्ड अब्वजरभेटिभ सेन्टरमा चरा सम्बन्धी हरेक शनिवार बालबालिकालाई पढाइन्छ ।

चराको बारेमा जानकारी दिनुका साथै कोसी आसपासका क्षेत्रमा चरा हेर्न र चिनाउन लगिन्छ । इन्दिरा कार्की त्यही चरा जान्न चाहने बालबालिकाको समूहका लिडर हुन् । उनले बारेमा जानकारीलीन थालेको ४ वर्ष पुगिसकेको छ । अहिले सम्म कोसी नदी आसपास, पटनाली जङ्गल, कोसीपारि रामपुर र कोसी टप्पु सम्म चरा हेर्न पुगेकी छिन् ।

उनले अहिले सम्म २ सय ५० प्रजातिको चरा चिनिसकेकी छिन् । उनी भन्छिन् हाम्रो वरिपरि पाइने चरा प्रकृतिका गहना हुन् । यिनीहरूको संरक्षण गर्नुपर्छ । हरेक शनिवार जव्दिका बालबालिकाले नयाँ कुराको जानकारी पाउने भएकोले निकै उत्साहित हुँदै चरा सिक्न पाउने कक्षामा बालबालिका सहभागी हुने गर्दछन् ।  दुरविनबाट चरा हेर्दै चरा विज्ञहरुसंग नयाँ नयाँ चरा हेर्न र जान्न पाउँदा त्यहाँ सहभागी बालवालिकाहरु दङ्ग पर्ने गर्दछन् ।Chara-1

वि.सं. २०६८ सालबाट चरा संरक्षणमा टेवा पुगोस् भनेर सुरु भएको चरा सम्बन्धी बालबालिकालाई जानकारी दिने यो कार्यक्रमका कारण केही यही सिकेकाहरू अहिले व्यावसायिक नेचर गाइड समेत भई सकेका छन् । यही जब्दीको कोसी अव्जरभेटिभ सेन्टरमा चरा सिक्दा सिक्दै अहिले व्यावसायिक नेचर गाइड भएकी नमुना विद्यार्थी हुन सम्झना कार्की ।

उनी अहिले पोखरामा रहेर व्यावसायिक गाइडको काम गर्ने गर्दछिन् । उनी प्लान हिमालय ट्रेकिङ कम्पनीमा र फ्रिडम एडभान्चर पोखरामा काम गर्दे आएकी छिन् । उनले पनि यही जब्दीमै चराको बारेमा जान्ने अवसर पाएकी हुन् । उनले अहिले सम्म ५ सय १२ प्रजातिका चरा चिन्ने भइसकेको उनी बताउँछिन् । ट्रेकिङ गाइडबाट राम्रो आम्दानी हुने पनि उनले बताए ।

उनका अनुसार अरू भन्दा चराको बारेमा जान्न सकियो र गर्न सकियो भने चराको गाईडमा राम्रो भविष्य रहेको पनि उनले बताइृन । सम्झनालाई अहिले चरा पढदै गरेका अरू बालबालिकाले प्रेरणा नै मान्ने गर्दछन् । सम्झना र इन्दिरा मात्रै होइन अहिले यहाँ करिब १५ जना भन्दा बढी कक्षा ५ देखि १२ कक्षा सम्म पढदै गरेका बालबालिका हरेक शनिवार चरा जान्नका लागि सिक्न आउने गर्दछन् ।

यसरी बालबालिकामा चरामोह बढ्नु चराविज्ञहरु सकारात्मक मान्छन् । कोसी वर्ड सोसाईटीका अध्यक्ष तथा चरा विज्ञ अनिश तिम्सिनाका अनुसार हरेक शनिवार चरा सिक्न चाहने बालबालिकाहरूको उत्साहपुर्ण उपस्थिति रहेको बताउँछन् । केटाकेटीहरू चरा मार्न ग्याटिस (गुलेली) बोक्ने हुन्छन् तर सुनसरीको बराहाक्षेत्र नगरपालिका जव्दि आसपासका बालबालिकाहरू भने चराको संरक्षण सँगै चरा जान्न चाहाना राख्ने गर्दछन् ।

विगत ८ वर्ष देखि निरन्तर सञ्चालन हुँदै आएको यो चरा सम्बन्धी जानकारी दिने कक्षा हरेक शनिवार बिहान साढे ६ बजे देखि सुरु भएर दिउसो अबेर सम्म हुन्छ भने कहिले कही दिनै पनि बित्ने गरेको तिम्सिना बताउँछन् । चरा पढ्न आउने बालबालिकाहरूलाई नेपालका चरा विज्ञहरू डा. हेम सागर बराल, अनीश तिम्सिना, दिनेश घिमिरे, सञ्जीव आचार्य, लोकेन्द्र बुढाथोकी, दिनेश घिमिरे र सुमन आचार्य लगायतले चरा सम्बन्धी जानकारी दिने गरेका छन् ।

अहिले सम्म यो कक्षाबाट चरा सम्बन्धी ७ जना जान्ने भइसकेको र नियमित कक्षामा सहभागी हुने बालबालिकाहरूले पनि राम्रोसँग चरा चिन्न थालिसकेको कोसी वर्ड सोसाईटीका अध्यक्ष अनीश तिम्सिनाले बताए । यहाँ सहभागी बालबालिकाहरूलाई कोसी वर्ड अव्जरभेटिभ सेन्टरले चिया खाजाको व्यवस्था गरेको छ भने कक्षा निःशुल्क हुने गरेको छ ।

यसरी साना साना बालबालिकामा चरा मोह बढ्नु र चरा सम्बन्धी जानकार हुनु भनेको अत्यन्तै राम्रो कुरा भएकोले यस बारेमा स्थानीय सरकारको पनि चासो बढेर प्रकृतिका सुन्दरपंक्षी संरक्षणमा थोरै भए पनि ध्यान दिन जरुरी देखिन्छ ।