झापा । गत फागुन २३ गते मोरङको बुढीगंगा गाउँपालिकामा अनौठो घटना घट्यो । २४ वर्षीय मुकेश कुमार महतोले आफ्ना बुबालाई आफू अपहरणमा परेको भन्दै फोन सम्पर्क गरे । अपहरण परेको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय मोरङलाई मुकेशका बाबुले पनि जानकारी गराए।

अन्य मुद्दा भन्दा अपहरण मुद्दामा तत्काल अनुसन्धान थाल्ने प्रहरीले सो घटनालाई पनि गम्भीरताका साथ लियो । नभन्दै २३ गतेको सो घटनामा प्रहरीले २६ फागुनमा नै घटनाको वास्तविकता पत्ता लगायो ।

मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा अपहरणको नाटक गरेको भन्दै सुनसरीको भान्टावारीबाट अपहरणमा परेको भनेको मुकेश कुमारलाई फेला पार्‍यो । फोन लोकेसन लगायत परीक्षण गर्दै जाँदा सो घटना अपहरण नभई अपहरणको नाटक भएको प्रहरीले पुष्टि गर्‍यो ।

मनोजलाई मात्र हैन उनैको घरमा काम गर्ने २५ वर्षीय कृष्ण राजवंशीलाई समेत नाटक गर्न सहयोग गरेको भन्दै बुधवारै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गर्‍यो ।

बुढीगङ्गा पछि पारिवारिक अपराधको घटना गत सोमबार बिरानगरमा पनि घट्यो । विराटनगर -१२ मलङवाका ७२ वर्षीय परण ऋषिदेवले आफ्नै श्रीमतीलाई दाउराको चिर्पटले हानेर हत्या गरे । ७० बर्षीया आफ्नै वृद्ध श्रीमती सगुत्री ऋषिदेवलाई हत्या गरे ।

सोमवार साँझमा घरायसी विवाद हुँदा श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा सगुत्रीको घटनास्थलमा नै मृत्यु भएको थियो । हाल शव परीक्षणको लागि कोसी अस्पताल पठाएको छ भने परणमाथि थप अनुसन्धान भइरहेको छ ।

बाहिरी रिसिवी मात्र हैन आजकाल पारिवारिक सामान्य विवादले पनि ठुलो रूप लिन थालेको छ । परिवार भित्रै रहेको सामान्य विवाद पनि गम्भीर अपराधको रूपमा प्रस्तुत हुँदै गएको छ । प्रदेश नम्बर एकमा पनि पछिल्ला केही दिन यता १ पारिवारिक सदस्यहरू बिचमा नै गम्भीर अपराध घटेका देखिन्छन् ।

फिल्ममा जस्तै कतै आफैले अपहरणमा परेको नाटक देखाउँदै होस् या श्रीमान् श्रीमतीको आपसी विवादहरू पनि अपराधमा परिणत भएको देखिन्छन् । यी र यस्तै घटनाका कारण प्रदेश १ आजभोलि केही अशान्तजस्तै देखिन थालेको छ । अझ पछिल्ला घटनाक्रमहरूलाई हेर्ने हो भने अहिले पेसेवार अपराधीभन्दा आवेगात्मक अपराधीको सङ्ख्या बढेको पाइन्छ ।

इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देको कैदलेमा श्रीमान् श्रीमती बुधवार मृत अवस्थामा भेटिए । धारिलो हतियार प्रयोग गरी रहस्यमय हत्या भएको अवस्थामा अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी रिता खपांगी बुधवार दिउसो घरकै सिकुवामा भेटिएको थियो ।

सर्बसाधारणहरु पारिवारिक कलह र अबुझपनाका कारण आजकल आफ्नैबाट पनि असुरक्षित भइरहेको देखिन्छन् ।

मापासे र सामाजिक सञ्जाल कारक

मादक पदार्थ सेवन र सामाजिक सञ्जालको कारण मान्छेहरू आत्महत्या र पारिवारिक हत्यामा उत्प्रेरित हुने पछिल्ला अनुसन्धानहरूले देखाउँदै आएका छन् । प्रदेश १ प्रहरी तथ्याङ्क अनुसार पछिल्ला दिनहरूमा पेसेवार अपराध भन्दा पनि आवेगात्मक अपराध बढ्दो क्रममा रहेको देखिन्छ ।

नेपाल प्रहरीमा लामो समय काम गरेर अवकाश जीवन बिताई रहेका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अम्बरसिंह शाह आवेगात्मक अपराध बढ्नुमा लागू पदार्थ र मादक पदार्थ सेवन मुख्य कारण रहेको औल्याउछन् । उनी भन्छन्, “नशामा लट्टिएपछि म के गर्दैछु भन्ने होस नै गुमाउन पुग्दा यस्ता अपराध बढिरहेको छ । यसको न्यूनीकरणका लागि जनचेतना बढाउन नसक्ने हो भने अझ भयावह रूप लिन सक्छ ।”

यस्तै पछिल्ला दिनहरूमा सामाजिक सञ्जालको बढ्दो प्रयोग अनि सामाजिक सञ्जालको गलत प्रयोगलेपनि यस्ता प्रकारका अपराध बढिरहेको जीवन चक्र समाज नेपालका अध्यक्ष जिपि गौतम बताउँछन् । गौतम भन्छन् 'यदि सामाजिक सञ्जालको सदुपयोग गर्न जान्यो भने यसबाट फाईदापनि छ तर यसको गलत प्रयोगले धेरैको जीवन उजाडिएको छ ।'