इटहरी । कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबा बलात्कार मुद्दा हेर्दै आएका जिल्ला अदालत सुनसरीका न्यायाधीशको सरुवा भएको छ । एक नम्बर इजलासका न्यायाधीश राधाकृष्ण प्रसाद उप्रेतीको सरुवा भएपछि बुधवार तोकिएको मुद्दा सुनुवाइको पेसी स्थगित भएको छ ।

मुद्दा हेर्दै गएको न्यायाधिसको सरुवा भएपछि २८ गते तोकिएको पेसी तत्काल स्थगित भएको हो । आफ्नै अनुयायीलाई बलात्कार गरेको सिद्धबाबाको मुद्दा राधाकृष्ण उप्रेतीले हेर्दै आएका थिए । सिद्धबाबालाई धरौटीमा छोड्न आदेश दिने उप्रेतीको काज सरुवा जिल्ला अदालत गुल्मीमा भएको छ ।

थुनछेक बहसपछि उप्रेतीले कानुनी व्यवस्थालाई उल्लङ्घन गर्दै सिद्धबाबालाई धरौटीमा रिहा गरेको भन्दै उप्रेतीको आलोचना भएको थियो ।

सरकारी वकिलको बयानमा सिद्धबाबाले पीडित महिलासँग माफ मागेको अडियो आफ्नै भएको भएको बताएका थिए । सरकारी वकिलमा दिएको बयानमा माफी मागेका सिद्धबाबाले अदालतमा भने पीडितसँग फोनमा बोलेको र माफ मागेको झुट हो भनेका थिए ।

सोही विषयमा सरकारी वकिलले बहस गर्दा पनि उप्रेतीले धरौटीमा छोडेका थिए । जिल्लाको आदेशमा आफ्नो पक्षमा आदेश नआएपछि सरकारी वकिल कार्यालय उच्च अदालत गएको थियो । सोही मुद्दामा जिल्ला अदालतको आदेशलाई उल्त्याउदै उच्च अदालतले सिद्दबाबालाई पुर्पक्षको लागि कारागार चलान गरेको थियो ।