धरान : विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको त्रासको कारण धरान, इटहरी र भेडेटारका होटेल व्यवसायमा ठुलो असर देखिएको छ ।

धरानमा कोरोना भाइरसको असर नराम्रोसँग परेको पर्यटन व्यवसायी वासु बराल बताउँछन् । उनका अनुसार अहिले धरानमा ६० प्रतिशत होटेल व्यवसायमा प्रत्यक्ष असर परेको छ । भारतीय पर्यटकसँगै आन्तरिक पर्यटकले भरिभराउ हुने धरानका होटलहरुमा अहिले कोरोना भाइरसको त्रासको कारण ग्राहक नै आउन छाडेका छन् ।

धरानको देशीलाईनमा रहेको नवयुग होटेलका सञ्चालक तथा होटेल एसोसिएसन धरानका पुर्वअध्यक्ष प्रमेश श्रेष्ठका अनुसार धरानमा रहेका होटलहरुमा कोरोनाको पुरै असर परेको बताउँछन् । सानो ठुलो गरी २५ वटा होटेल तथा अरू होटेल, लज र रेस्टुरेन्ट गरी करिब १ सय २० वटा  होटेल रेस्टुरेन्ट रहेको बताउँदै श्रेष्ठले भने धरान हुँदै यात्रा गर्नेहरू पनि अहिले होटेलमा बस्न छाडेका छन् ।

धरानकै अर्को सन्ध्या ईन होटेलका सञ्चालक रविन अधिकारी पनि कोरोनाका कारण आफ्नो होटेलमा पनि ग्राहक नआएको बताउँछन् । एक समय डेंगुले असर गर्यो । फेरी अलि अलि केही होला भन्ने आस गर्दागर्दै कोरोनाको समस्याले होटेलमा समस्या पारेको अधिकारीले बताए ।
ड्रिमल्याण्ड होटेल धरानका सञ्चालक नारायण लिम्बु पनि कोरोनाको कारण होटेलमा आउने बस्नेको सङ्ख्या घटेको बताउँछन् । तर उनी भन्छन् होटेलमा कोरोनाकै कारण चहलपहल कम छ , केही रुम लाग्छन् तर बचत भने हुँदैन ।

यति बेला मौसम परिवर्तन हुने समय र गुराँस फुल्ने समय भएपनी यति बेला पूर्वकै पर्यटकीय गन्तव्य भेडेटार सुनसान जस्तै छ । आन्तरिक पर्यटक सँगै यति बेला भारतीय पर्यटकहरूको आगमन हुने याम भए पनि यस पटक कोरोनाकै कारण भेडेटारमा आउने पर्यटकहरू घटेको भेडेटार होटेल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।

यस्तै समस्या इटहरीका होटेलमा पनि छ । होटेलमा व्यापार घाटाको छ । कर्मचारीलाई तलब दिनु हम्मे हम्मेको अवस्था आएको होटेल एसोसिएसन इटहरीका अध्यक्ष जीवन भट्टराई बताउँछन् । कोरोनाकै कारण हिँडडुलमा सर्वसाधारण डराउने भएकोले गर्दा अहिले कोरोनाको असर होटेलमा देखिएको उनी बताउँछन् ।