विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । 

राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरू मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन । सङ्घीयता नेपालको लागि अवसर बताउँदै लागू भएको देशहरूमा पनि यसको कार्यान्वयनमा समय लागेको कोडिको धारणा थियो ।

मुख्यमन्त्री राईले नेपालले पहिलो पटक मौलिकतामा आधारित सङ्घीयता अवलम्बन बताएका थिए । प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शून्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्त्वपूर्ण आधारहरू तयार भएको जानकारी गराएका थिए उनले भने 'हाम्रा लागि यो दुई वर्ष निकै महत्त्वपूर्ण वर्ष रहे, मुख्यमन्त्री राईले भन्नुभयो कानुन निर्माण र आवश्यक संरचनाहरू तयार भएका छन् ।'

प्रदेश तहमा जनशक्ति अभाव बताएका राईले प्रदेश लोकसेवा आयोग गठन मार्फत अब भने समस्या समाधान विश्वास व्यक्त गरेका थिए । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० बर्से सडक गुरुयोजना सार्वजनिक गरिसकेको प्रदेश सरकारले जानकारी दिएको थियो ।

योजनाहरूको सूची बनाएर लगानी सम्मेलन गर्ने बारेको जानकारी राईले दिएका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धी विधेयक प्रदेश सभामा पेस भएको बताउँदै उक्त विधेयकले बालबालिकाहरूको अधिकार सुनिश्चित हुने बताएका थिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाको बारेमा जानकारी गराएका थिए । भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क बिच लगायत टोलीको उपस्थिति थियो ।