झापा : गत फागुन २३ गते मोरङको बुढीगंगाका २४ वर्षीय मुकेश कुमार महतोले आफ्ना बुबालाई आफू अपहरणमा परेको भन्दै फोन सम्पर्क गरे । छोरा अपहरणमा परेको खबर पाउन साथ पैसा सहित गुहार माग्ने तनावमा रहेका बाबु शिवनारायण महतो कै माध्यमले प्रहरीलाई समेत जानकारी भयो ।

एक कान दुई कान हुँदै अपहरण गरेको घटना मैदान अर्थात् महतोका सबै आफन्त सम्म पुगेको थियो । निजका आफन्तले यो खबर २४ गते प्रहरीलाई दिए । सूचना प्राप्त हुनासाथ गोप्य रूपमा खोजतलासमा लागेको प्रहरी टोलीले अपहरणमा परिएका भनिएका मुकेशलाई २६ गते भान्टावारीमा फेला पार्‍यो ।

त्यसपछि प्रहरीले थप अनुसन्धान सुरु गर्‍यो । तर जब जब वास्तविकता खुल्यो अनुसन्धान गर्ने प्रहरीनैपनि चकित बन्न पुगे । प्रहरीले उक्त घटना अपहरण नभई अपहरणको नाटक मात्र भएको तथ्य खोल्यो ।

अपहरणमा परेको भनिएको मनोजलाई मात्र हैन उनैको घरमा काम गर्ने २५ वर्षीय कृष्ण राजवंशीलाई समेत नाटक गर्न सहयोग गरेको भन्दै बुधवारै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गर्‍यो ।

बुढिगंगा गाउँपालिका ३ का महतो गत फाल्गुन २३ गते १० बजे घरबाट निस्किए । त्यसको केही समयपछि अर्थात् ११ बजे उनले आफ्नै बुबालाई फोन गरी आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख फिरौती रकम मागेको जानकारी गराए ।

यसरी पत्ता लाग्यो वास्तविकता

मुकेशलाई प्रहरीले सुनसरी स्थित भान्टावारीभन्ने ठाउँबाट फेला पारेको थियो । खोजविनकै क्रममा घटना शंखास्पद देखेको प्रहरीले मुकेशलाई प्रहरीले सोधपुछ गर्न थाल्यो ।

बयानकै क्रममा मुकेशले प्रहरी समक्ष आफू मिटर व्याजमा फसेको बताएका थिए । प्रहरीको सविती बयानमा मिटर ब्याजको चक्रव्यूहमा फसेको र सोही ऋण तिर्नका लागी आफूले अपहरणमा परेको नाटक गरेको बताए ।

बुबाले बुझाएको २१ लाख फिरौती मध्ये १९ लाख ५३ हजार बरामद गरेको छ । सुरुमा अपहरणकारीले लहानमा राखेको बताएका उनले त्यसपछि जनकपुर र कोसी ब्यारेजमा राखेको जानकारी गराएका थिए ।

प्रहरीको बयानमा मिटर व्याजमा लगाउनेहरुले रकम नदिए ज्यान मार्ने धम्की दिएकोले अपहरणको नाटक गरेको बताए । फिरौती बापतको रकम लिनका २५ वर्षीय कृष्ण राजवंशीलाई पठाएको पाइएकोले राजवंशीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राईले बताए ।

बाबु भन्छन् 'छाँगाबाट खसेझैँ भए'

Buwa 1

मुकेश कुमार महतोका बुबा शिवनारायण

गत फाल्गुन २३ गते बिहान ११ बजे मुकेशको बुवा शिवनारायणलाई म्यासेज र फोन आएपछि तनावमा परे । अपहरणकारीले मागेको फिरौती रकमको जोहो गर्न थालेका शिवनारायणले अपहरणकारीसँग ३० लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ २१ लाख रुपैयाँमा पुगेर कुरा टुङ्गाएका थिए ।

अपहरणमा परेका छोराले आफूलाई कहिले लहानमा राखिएको, त कहिले जनकपुर र कहिले कोसी ब्यारेजमा राखेको भन्ने जानकारी भने दिई रहेका थिए । प्रहरीले पनि उल्लेखित स्थानहरूमा आफ्नो सक्रियता बढाइरहेको थियो । यस क्रममा २६ गते फिरौती रकम लिए पश्चात् आफूलाई छाडिदिएको र आफू भान्टावारी रहेको भनी आफ्ना बाबुलाई खबर गरेका थिए ।

वास्तविकता बाहिर आएपछि शिवनारायण छाँगाबाट खसेजस्तै भए । उनले आफ्नै छोराले यतिसम्मको गिर्ने काम गर्ला भन्ने कहिल्यै नसोचेको प्रतिक्रिया दिएका थिए ।